११ साउन, काठमाडौं । नयाँ बन्ने सरकारमा राष्ट्रिय प्रजातन्त्र पार्टी सहभागी हुने भएपछि सो दलसँग राप्रपा नेपाल असन्तुष्ट बनेको छ । राप्रपाले मात्रै नयाँ सरकारमा भागवण्डा पाउने भएपछि राप्रपा नेपालका नेताहरु आक्रोसित बन्दै पार्टी एकता गर्न नदिने पक्षमा लागेका छन् ।
मंगलबार सुरु भएको राप्रपा नेपालको केन्द्रीय समिति बैठकमा बोल्ने नेताहरुले राप्रपासँग कुनै हालतमा एकीकरण गर्न नहुने माग गरेका हुन् । राप्रपासँग एकीकरण गरे पार्टी कमजोर हुने धारणा उनले राखेका थिए ।
तर नयाँ सरकारमा जाने विषयमा समेत पार्टीमा छलफल भैरहेको पार्टीका सहायक महामन्त्री राजाराम श्रेष्ठले दिएका छन् । तर नयाँ गठबन्धनले राप्रपा नेपाल र फोरम लोकतान्त्रिकलाई सरकारमा सहभागी गराउँदा मधेसी मोर्चा भड्किने भएको दुवै दललाई सरकारमा सामेल नगराउने भएका छन् । यस कुराले पनि पार्टी अध्यक्ष कमल थापालाई चोट परेको राप्रपा नेपालकै एक नेताले बताए ।
नयाँ सरकारमा सहभागी हुन नपाउँदा र आफ्ना विरोधीलाई प्रवेश राप्रपामा गराएकोमा थापा असन्तुष्ट
राप्रपाप्रति अध्यक्ष थापा भड्किनुको अर्को प्रमुख कारण उनका विरोधीहरुलाई राप्रपाले मंगलबार भित्र्याउनुलाई समेत लिइएको छ । थापाको कार्यशैलीको विरोध गर्दै राप्रपा नेपाल समानान्तर गठन गरेको लावती समूह मंगलबार राप्रपामा विलय भएको छ । राप्रपा र राप्रपा नेपालबीच एकीकरण हुने भएकोले पहिले नै लावती समूहले राप्रपासँग एकीकरण गरेको हो ।
यसैबीच राप्रपा केन्द्रीय समितिको बैठक समेत मंगलबारबाट सुरु भएको छ । बैठकमा राप्रपा नेपालसँग एकीकरण गर्ने तथा नयाँ बन्ने सरकारमा सहभागी हुने विषयमा छलफल भैरहेको नेता वसन्तमानसिंह अधिकारीले जानकारी दिए ।
राप्रपाको बैठकमा भने जतिसक्दो चाँडै राप्रपा नेपालसँग एकीकरण गर्नुपर्नेमा जोड दिइएको छ । राप्रपा नेपाल र राप्रपाका केन्द्रीय समिति बैठक वुधबार समेत बस्ने छन् ।












