अझै पनि ओलीमाथि नै शंका
११ साउन, साउन । तत्कालीन सेनाप्रमुख रुक्माङ्गत कटुवालका कारण प्रधानमन्त्री पद छाड्न बाध्य भएका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दोस्रोपल्ट प्रधानमन्त्री बन्न लागेका वेला सेनाबाट नै अवरोध आउन सक्ने डर माओवादी केन्द्रमा देखिएको छ । प्रधानमन्त्री केपी ओलीले सत्ता छाडेलगत्तै प्रचण्ड प्रधानमन्त्री बन्ने निश्चित भएपछि नेपाली सेना प्रमुख राजेन्द्र क्षेत्रीले दिएको अभिव्यक्तिले माओवादी झस्किएको हो ।
वर्तमान राजनीतिक परिवेशप्रति नेपाली सेनाका प्रमुख राजेन्द्रबहादुर क्षेत्रीले राजनीतिक अभिव्यक्ति दिएपछि कतै फेरि प्रचण्डलाई प्रधानमन्त्री बन्न नदिने खेल सुरु भएको हो कि भनी माओवादी केन्द्रभित्र तीव्र वहस भएको छ । माओवादीका एक शीर्ष नेताले नेपालदेशडटकमलाई प्रतिक्रिया दिंदै भने – ‘केपी ओलीले वालुवाटार नछाड्दासम्म स्थिति के हुने हो भन्ने डर अझै कायम छ ।’
के त्यसो भए ओलीकै योजनामा सेना प्रमुखको अभिव्यक्ति आएको हो त ? ती नेताको भनाइलाई आधार मान्ने हो भने सायद माओवादीले यस्तै विश्लेषण गरिरहेको छ । मकाम चलाउ प्रधानमन्त्री ओलीको योजनामा राष्ट्रपतिमार्फत नयाँ योजना बनेको हुनसक्ने आंकलन माओवादीले गरिरहेको हो त ?
कामचलाउ सरकारले मुलुक चलाइरहेका वर्तमान अवस्थामा प्रधानसेनापतिले नेपाली राजनीतिलाई सूक्ष्म ढंगले हेरिरहेको अभिव्यक्ति अवश्य पनि भावी सरकारप्रति लक्षित भएको स्पष्ट छ ।
पहिलो संविधानसभा निर्वाचनपछि प्रधानमन्त्री बनेका प्रचण्डले तत्कालीन सेना प्रमुख कटवाललाई हटाएर कुलबहादुर खड्कालाई प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेका थिए । यो घटनाले क्षेत्री पनि तर्सिएका देखिन्छ । अप्रत्यक्ष रुपले क्षेत्रीले अब त्यस्तो सोच नबनाउनू भन्ने सन्देश प्रचण्डलाई दिन खोजेका हुन सक्छन् । यदि त्यति मात्रै हो भने त ठीकै थियो । तर प्रचण्डलाई प्रधानमन्त्री बन्नै नदिने र असहयोग गर्ने गरी यो चेतावनी आएको हो भने स्थिति पक्कै पनि संवेदनशील देखिन्छ ।
यो पनि पढ्नुहोस् :
माओवादीले पनि तयार पार्यो मन्त्रीको नामावली (हेर्नुहोस् : विस्तृतमा)












