११ साउन, काठमाडौं । नयाँ बन्ने सरकारमा कांग्रेसका तर्फबाट कसले नेतृत्व गर्ने कुराको टुङ्गो लाग्न वाँकी भए पनि मन्त्रीहरुको नाम भने करिबकरिब अन्तिम चरणमा पुगेको छ । मंगलबार विहान शीर्ष नेतासहित पार्टी पदाधिकारीको बैठकमा स्थानीय संरचनाका विषयमा मात्र छलफल भए पनि दुई नेता बसेर मन्त्रीको नामावलीलाई अन्तिम रुप दिने तयारी गरेका छन् ।

कांग्रेसले १३ मन्त्रालय पाउने सहमति भएकोले १३ मन्त्रालयमध्ये ५ या ६ मन्त्रालयका लागि पौडेल पक्षका र बाँकी देउवा पक्षका नेताहरु मन्त्री बन्ने निश्चित भएको छ । फोरम लोकतान्त्रिकलाई तत्काल सरकारमा सहभागी नगराउने भएकोले कांग्रेसको कोटामा १३ वटै मन्त्रालय पर्ने बताइएको छ ।
कांग्रेसका तर्फबाट नेता गोपालमान श्रेष्ठले नेतृत्व गर्ने या शेखर कोइरालाले नेतृत्व गर्ने भन्ने विषयको टुङ्गो लाग्न बाँकी भए पनि पदाधिकारीका तर्फबाट भने कोषाध्यक्ष सितादेवी यादव सरकारमा जाने लगभग निश्चित भएको कांग्रेस स्रोतले जानकारी दिएको छ । राजाको शासनकालमा समेत देउवालाई साथ दिएका र मध्यममार्गी नेता भएकोले दुवै पक्षलाई सन्तुलन मिलाउन श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने तयारीमा देउवा रहेको भित्री स्रोत बताउँछ । तर, कृष्ण सिटौला समेत त्यसको आकांक्षी भएका र भारतीय पक्षको पनि दवाव भएका कारण देउवा केही अप्ठेरोमा छन् । यद्यपि सिटौलालाई देउवाले प्राथमिकतामा राखेका छैनन् ।
पार्टी सभापति दोस्रो चरणमा प्रधानमन्त्री बन्ने र महामन्त्री सशांकको स्वास्थ्य अवस्थाका कारण प्रचण्डको नेतृत्वमा बन्ने सरकारमा पदाधिकारीबाट कोषाध्यक्ष यादवलाई पठाउन दुवै पक्ष सहमत भएको जनाइएको छ । नेता आनन्दप्रसाद ढुङ्गानाले सरकारमा यादवको सहभागिता आवश्यक रहेको जानकारी दिए । ‘मधेसी समुदायबाट महिलाको पनि प्रतिनिधित्व गराउनका लागि सिताजी सरकारमा जानु आवश्यक छ’ उनले भने । द्वन्द्वकालीन मुद्दा टुङ्गो लगाउने मूल एजेण्डासहितका कांग्रेस माओवादी गठबन्धनमा द्वन्द्वपीडितलाई समेत सहभागी गराउनुपर्ने भएकोले पनि सितादेवीलाई मन्त्रीपरिषद्मा पठाउन देउवा र पौडेल दुवै सकारात्मक रहेको स्रोतले बतायो । माओवादी जनयुद्धकालमा सितादेवीका पतिको हत्या भएको थियो । कांग्रेसभित्रका द्वन्द्वपीडितको प्रतिनिधित्व गर्दै पदाधिकारी मन्त्रीपरिषद्मा सहभागी हुनुपर्नेमा कांग्रेस नेता तथा कार्यकताले समेत दवाव दिएको बुझिएको छ ।
तर देउवा पक्षका विमलेन्द्र निधि भने सितादेवीलाई पठाउन नहुने पक्षमा लागेको बताइएको छ । निधिले उपप्रधानमन्त्रीसहितको गृहमन्त्रालय चलाउने चाहना राख्दै आएका छन् । पार्टीको उपसभापतिमा समेत आफूलाई मनोनयन गर्न निधिले दवाव दिइरहेका छन् । उपसभापति र उपप्रधानमन्त्री दुवै पद दिँदा अप्ठेरो पर्ने र फास्ट ट्रयाक निर्माणका विषयमा निधि विवादित बनेकोले निधिलाई सरकारमा नपठाउने पक्षमा देउवा देखिएका छन् । उपसभापति पदमा निधि र खुमबहादुर खड्काले आआफ्नो प्यानलबाट दवाव दिइरहे पनि खड्कालाई उपसभापति बनाउने पक्षमा देउवा छैनन् ।
देउवा प्यानलबाट गोपालमान श्रेष्ठसहित वालकृष्ण खाँड, प्रकाशशरण महत, महेन्द्र यादव, मीन विश्वकर्मालगायतका नेताहरु मन्त्री बन्ने निश्चित भएको छ । यो सूचीमा खुमबहादुर खड्का र कृष्णप्रसाद सिटौलाका व्यक्ति थपेर देउवाले अन्तिम सूची तयार पार्दैछन् ।
पौडेल पक्षबाट शेखर कोइराला, सितादेवी यादवको निश्चित भए पनि अन्य आकांक्षी धेरै भएकोले निर्णय गर्न पौडेललाई अप्ठेरो परेको छ । पौडेल पक्षबाट आनन्द ढुङ्गाना, कमला पन्त, नवीन्द्रराज जोसी, दीपक गिरी, राजेन्द्र केसी आकांक्षी छन् । पौडेलले ५ जनाको मात्रै कोटा पाउने भएमा ढुङ्गाना, पन्त, जोसी, गिरी र केसीबीच कसलाई पठाउने भन्ने समस्या परेको छ । यीमध्ये केसीलाई राज्यमन्त्री दिने सम्भावना बढी छ ।
नयाँ सरकारले स्थानीय तहको निर्वाचन गराउने भएका कारण गृह मन्त्रालय परिपक्व व्यक्तिको जिम्मामा दिनुपर्ने विषयमा कांग्रेसमा गम्भीर छलफल भैरहेको नेता आनन्दप्रसाद ढुङ्गानाले बताए । कांग्रेसका लागि गृहमन्त्रालय निश्चित भए पनि अन्य मन्त्रालय कुनकुन पाउने भन्ने टुङ्गो लाग्न बाँकी छ । संचार मन्त्रालयमा कांग्रेस र माओवादी दुवै पक्षले दावी गर्दै आएका छन् ।
यो पनि पढ्नुहोस् :
प्रचण्डलाई प्रधानमन्त्री बन्न नदिने अर्को खेलले झस्कियो माओवादी














