१० साउन, काठमाडौं । सात दिनभित्र राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्री चयन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुलाई आह्वान गरेकी छिन्। प्रमुख ३ दलका शीर्ष नेताहरुसँग आज राष्ट्रपति भवनमा परामर्श गरेपछि उनले सरकार गठनका लागि आह्वान गरेकी हुन् । नेपालको संविधानको धारा ३०५ बमोजिम जारी भएको बाधा अड्काउ फुकाउने आदेश र सोही संविधानको धारा २९८ को उपधारा २ बमोजिम सात दिनभित्र राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्रीको निर्वाचन सम्पन्न गरी निजको अध्यक्षतामा मन्त्रिपरिषद्को गठन गर्नको लागि व्यवस्थापिका संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुलाई आह्वान गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।
उनले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डसँग छलफल गरेकी हुन् ।
राष्ट्रपतिले डेढ वर्षभित्र स्थानीय, प्रदेश र संघीय तहको निर्वाचन गरी संविधान कार्यान्वयन गर्ने कुरा सजिलो नरहेको भन्दै सहमतिका साथ अगाडि बढ्न आग्रह गरेकी छन् ।
राष्ट्रपति भवनमा भएको छलफलमा करिब दुई घण्टा लामो सामूहिक भेटवार्तामा राष्ट्रपति भण्डारीले प्रमुख दलहरुबीच आपसमा तित्तता उत्पन्न भए संविधानको कार्यान्वयन जोखिमपूर्ण हुने भन्दै बाँकी समयको सक्दो उपयोग गर्नतर्फ केन्द्रीत हन आग्रह गरेकी छन् । प्रमुख दलहरुबीचको सम्बन्ध सहज हुँदा मात्र राष्ट्रिय मुद्दा सम्बोधन गर्न सकिने उनको धारणा थियो ।
राष्ट्रपतिसँगको भेटमा नयाँ गठवन्धन बनाएका कांग्रेस सभापति देउवा र माओवादी अध्यक्ष प्रचण्डले राष्ट्रिय मुद्दाको समाधान तथा संविधानको कार्यान्वयनमा दलहरुबीच समझदारी कायम गरेरै अगाडि बढ्ने बताएका छन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय मुद्दाहरुमा नयाँ सरकारलाई एमालेले पूर्णरुपमा सहयोग गर्ने बताए ।
राष्ट्रपति भण्डारीले नयाँ सरकार गठनमा देखिएको संवैधानिक जटिलता फुकाउन बाधा अड्काउ फुकाउने आदेश दिएकी थिइन्।













