१० साउन, काठमाडौं । सबैभन्दा ठूलो दल नेपाली काँग्रेसले पहिलो चरणमा मधेसकेन्द्रित दलको सहभागिता विना नयाँ सरकार गठन हुने खुलासा गरेको छ । कांग्रेस नेता रमेश लेखकले सोमबार यस्तो जानकारी दिएका हुन् । राजधानीमा सोमबार आयोजित एक कार्यक्रममा बोल्दै नेता लेखकले अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका सबैजसो दललाई सहभागी गराउने तर पहिलो चरणमा भने मधेसकेन्द्रित दल विनाको सरकार बन्ने बताए ।
काँग्रेस सभापति शेरबहादुर देउवा निकट केन्द्रीय सदस्य रमेश लेखकले मधेसकेन्द्रित दलहरुले सरकारभन्दा संविधानसँग सम्बन्धित माग प्राथमिकताको विषय भएको बताएका कारण पहिलो चरणमा केही दल मात्र सरकारमा सहभागी हुने बताए । काँग्रेस र माओवादी केन्द्रबीच भएको सहमतिअनुसार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भइसकेपछि अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका सबै दललाई सरकारमा सहभागी गराउने उनले जानकारी दिए ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चामा आवद्ध मधेशवादी दलका सांसद्ले पनि अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका थिए ।












