प्रधानमन्त्री केपी ओलीले पदबाट राजीनामा दिएका छन् । संसदमा पेस भएको अविश्वासको प्रस्तावमाथि बहुमत पुग्ने र आफू पदमुक्त हुने निश्चित भएपछि ओलीले पदबाट राजीनामा दिएका हुन् । यसअघिसम्म प्रस्तावकोसामना गर्ने बताउँदै आएका ओलीले आइतबार संसदलाई सम्बोधन गर्नुपहिले राष्ट्रपति विद्या भण्डारीसमक्ष राजीनामा बुझाएका हुन् ।
मन्त्रीपरिषद् बैठक सकेर राजीनामा समेत बुझाएपछि संसदमा सम्बोधन गर्न पुगेका ओलीले सम्बोधनकै क्रममा औपचारिक राजीनामा घोषणा गरे । सधैंजसो उखानटुक्का र सपनाका कुरा गर्ने ओली आइतबारको सम्बोधनमा निकै भावुक हुँदै विस्तारै बोलेका थिए । प्रधानमन्त्री ओलीले संसदबाट अविश्वासको प्रस्तावमा आफूलाई समर्थन प्राप्त नहुने भएपछि राष्ट्रपतिसमक्ष राजीनामा दिइसकेको उल्लेख समेत गरे ।
फेरिएको परिस्थितिमा नयाँ प्रधानमन्त्री चयनका लागि मार्गप्रसस्त गर्न राजीनामा दिएको उनले बताए ।
प्रधानमन्त्री चुनावमा रहेको बाधा अड्काउ फुकाउको आदेश जारी गर्ने मन्त्रिपरिषदको निर्णयसहित सम्बोधन अघि ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका थिए । बाधा अड्काउ फुकाउसम्बन्धी आदेशको निर्णय ओली मन्त्रिपरिषदको अन्तिम निर्णय हो ।
वर्तमान संविधानमा रहेको प्रधानमन्त्री निर्वाचन सम्बन्धी संवैधानिक अन्योल नहटाई राजीनामा नदिने अडान प्रधानमन्त्री ओली र उनको दल एमालेले राख्दै आएको थियो ।
ओली असोज २४ गते माओवादी, राप्रपा नेपाल, राप्रपासहितका साना पार्टीको समर्थनमा प्रधानमन्त्री भएका थिए । प्रधानमन्त्री निर्वाचनमा तत्कालिन कांग्रेस सभापति सुशील कोइरालालाई हराउँदै ३ सय ३८ मत ल्याएर निर्वाचित भएका थिए ।












