९ साउन, काठमाडौं । नयाँ सरकार गठनका लागि संविधानले वाधा अड्चन सिर्जना नगरेको बहस संसद भवनमा भैरहँदा सरकारले भने नयाँ सरकार गठनको वाधा अडकाउ फुकाउन राष्ट्रपतिलाई सिफारिश गरेको छ ।
नयाँ संविधानको धारा २९८ अनुसार नयाँ सरकार गठन गर्न संवैधानिक अड्चन रहेकाले आइतबार बसेको मन्त्रिपरिषद बैठकले धारा ३०५ अनुसार राष्ट्रपतिलाई बाधा अड्काउ फुकाउन सिफारिस गरेको पर्यटन मन्त्री आनन्द पोखरेलले जानकारी दिए ।
एमाले नेता झलनाथ खनालले आइतबार संसदमा बोल्दै नयाँ सरकार गठनमा संविधान बाधक नभएको धारणा राखेका थिए । तर प्रधानमन्त्री केपी ओलीले वाधा अड्चन रहेको ठहर गर्दै राष्ट्रपतिलाई लेखेर पठाएका छन् । सरकारले बाधा अड्काउ फुकाउका लागि गरेको सिफारिशले नयाँ सरकार गठनमा सहजता ल्याउने हो या झन जटीलता थप्ने हो भन्ने कुरा स्पष्ट हुन सकेको छैन ।
नेपालको संविधान २०७२ अनुसार संविधान कार्यान्वयनमा कुनै बाधा अड्काउ परेमा मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट बाधा अड्काउ फुकाउन सकिनेछ । त्यस्तो आदेशलाई संसदले अनुमोदन गर्नुपर्ने हुन्छ । संसदले नै वाधा छ नभनेको अवस्थामा सरकारले गरेको यो सिफारिशलाई संसदले अनुमोदन गर्ला या नगर्ला भन्ने प्रश्न उठेको छ ।











