क्रन्दन चापागाई
८ साउन, काठमाडौं । ‘केपी ओली र कमल थापा मिलेर कू गर्दैछन् तपाईंको सूचना के छ ?’ भन्दै एक माओवादी उच्च तहका नेताले यस पक्तिकारलाई शनिबार साँझ करिब साढे छ बजेतिर मोबाइलमा एसएमस गरे । एसएमएस गर्ने तिनै नेता हुन् जसले सबैभन्दा पहिले पार्टीमा ओलीविरुद्धको स्वर उठाए र ‘माओवादी सिद्याउने ओलीको खेल छ’ भनेर भन्दै आए ।
ठीक त्यसै वेला मानवअधिकारकर्मीको उपाधि पाएका पूर्व कांग्रेस सभामुख दमननाथ ढुंगानालगायत व्यक्तिको संलग्नतामा भएको एउटा अनौपचारिक वहसमा पनि यही कुरा भैरहेको थियो । वानेश्वरको अर्याल होटलमा भएको केही कानुनविद्हरुको अनौपचारिक छलफलमा केपी ओलीले राष्ट्रपति विद्या भण्डारीलाई प्रयोग गर्दै कू गर्ने योजना बनाइरहेको विषयम छलफल भयो । यो छलफलमा सहभागी थिए कांग्रेस वकिल भनेर चिनिएका र केही समय पहिले प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा मानहानिको मुद्दा हाल्ने वकिल दिनेश त्रिपाठी पनि ।
मण्डल थरका मधेसी वकिल पनि त्यहाँ सहभागी थिए । मानवअधिकारकर्मीहरुको यो भेलाले प्रधानमन्त्रीले राष्ट्रपति विद्या भण्डारीलाई उपयोग गर्दै कू गर्न सक्ने विषयमा छलफल गरेको थियो । त्यहाँबाट निस्किएका एक मधेसकेन्द्रित दलका नेताहरुले भने – ‘यो गम्भीर विषय भएको छ । विज्ञ व्यक्तिहरुको सूचना र विश्लेषण हेर्दा ओलीले सहजै सत्ता छाड्ने अवस्था देखिएन । ढुगांना लगायतका व्यक्तिले ओलीले ज्ञानेन्द्रको समेत सहयोग लिएर कू गर्न लागेको विश्लेषण गरेका थिए ।’
जुन कुरा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले शुक्रबार संसदमा दिएको अभिव्यक्तिसँग मेल खान्छ । प्रचण्डले भनेका थिए- ‘ओलीको गतिविधि हेर्दा उहाँको लगाव राजतन्त्रसँग देखिन्छ ।’ दश वर्षे जनयुद्ध हाँकेका प्रचण्डले यो कुनै विनासूचना पक्कै पनि भनेका होइनन् । उनले कुनै सूचना पाएरै यो अभिव्यक्ति दिएको मान्न सकिन्छ । मानवअधिकारर्मी तथा कानुनविद्को अर्याल होटलको भेलाले यसलाई थप पुष्टी गरेको छ ।
त्यस्तै अर्याल होटलमा भएको भेलामा ओलीलाई पूर्वराजाको सहयोग भएको विषयमा समेत बहस भएको थियो । पूर्वराजा ज्ञानेन्द्र शाह नेपालमै भएको वेला कू गर्दा बदनाम हुने भएकोले उनको परिवारलाई युरोप पठाएर कू गर्न लागिएको गोप्य सूचना बारे समेत करिब ३० जना मानवअधिकारकर्मीहरु सहभागी भएको अर्याल होटलको भेलामा छलफल भएको थियो ।
के ओलीले यस्तो आँट गरिरहेका होलान् त ? उनको प्रवृत्ति हेर्दा यो अस्वाभाविक देखिन्न । ओली नितान्त व्यक्तिवादी देखिएको उनका सबै घटनाको परिदृश्यबाट देखिएको छ । १५ वर्ष पार्टी हाकेका माधव नेपालले समेत शनिबार संसदमा ओलीप्रतिको तितो ओकले । माओवादी अध्यक्ष प्रचण्डको कटु आलोचनक ओली प्रधानमन्त्री बन्नकै लागि अति नजिक हुन सके । गिरिजाले पट्याउन नसकेका प्रचण्डलाई ओलीले पट्याए । यो खूवी अति निकृष्ट तानाशाहको मात्रै हुनसक्ने एक विश्लेषकले नेपालदेश डटकमलाई बताए ।
हो, ओली नितान्त व्यक्तिवादी छन् किनभने उनको लागि अर्को पुस्ता कोही छैन । आफ्नो अर्को पुस्ता कोही नभएको डाक्टर गोविन्द केसी अनशनमा हुँदा ओलीको मन अलिकति पनि पग्लिएको छैन । ‘ओलीले त आफ्नो ज्यूहजुरी गर्नेलाई मात्रै देख्छन्’ एमालेकै एक नेताले बताए । सायद त्यही भएर होला ओलीले महेश वस्नेतले ‘ढोग’ गरुन्जेल उनलाई ठीक माने, कर्ण थापाले ‘ढोग’ गरुन्जेल उनलाई ठीक माने र ‘ढोग’ गर्न छाडेपछि मन्त्रीबाटै हटाए । ‘ढोग’ गर्न छाडेका महेश वस्नेत पनि अहिले ओलीसँग रुष्ट छन् ।
युवा नेताको के कुरा गर्नु महाकाली सन्धिजस्तो राष्ट्रिय कुरा उठाएर ओलीसँगकै मुनमुटावका कारण पार्टी फुटाएर फेरि फर्केका वामदेव गौतमले गएको महाधिवशेनमा ओलीलाई ‘देवता’ माने । फेरि वामदेवको दूरि ओलीसँगै बढ्यो र उनले भने – ‘भद्र सहमतिअनुसार ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिनुपर्छ ।’
यी घटनाक्रम हेर्दा ओलीले आफूलाई ‘महाराज’ बनाउन चाहेको प्रष्ट हुन्छ । उनी निकट राष्ट्रपति भएको वेला कू गरेर केही समय सत्ता हत्याइरहन चाहन्छन् भन्ने कुरामा कुनै शंका देखिन्न । किनभने उनलाई यतिवेला सत्ता छाड्न ईच्छा नै नभएको जगजाहेर नै छ ।
प्रचण्डको शुक्रबारको प्रहारले ओली झनै रुष्ट छन् । उनले प्रचण्डलाई प्रधानमन्त्री बन्न नदिनका लागि आफ्नो बल प्रयोग गर्दै गरेको अति भित्री स्रोत बताउँछ । संसदमा प्रचण्डले गरेको अपमानको बदला देखाइदिने दाउमा ओली रहेको उनका निकट व्यक्तिले यसै पक्तिकारलाई बताए । तर त्यो कुन स्वरुपमा हुन्छ भन्ने कुरा उनले बताउन चाहेनन् ।
के यी घटनाक्रमलाई हेर्दा ओलीले सहजरुपले सत्ता छाड्ने देखिन्न । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्तिहरुको चासो र सक्रियता देख्दा देशमा सहज सत्ता हस्तान्तरणको अवस्था देखिन्न । यदि सहज रुपमा ओलीको अवतरण भयो भने नेपालीले एउटा खुशी मान्नुपर्ने विषय हुने छ ।












