८ साउन, काठमाडौं । वर्तमान सरकारमा सहभागी राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । राप्रपा संसदीय दलका नेता पशुपति शमशेर राणाको नेतृत्वमा शनिबार बसेको पार्टीको संसदीय समिति बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो । सरकारलाई दिएको समर्थनसँगै आफ्नो दलबाट सरकारमा सहभागी दुई मन्त्रीलाई फिर्ता बोलाउने निर्णय समेत सो दलले गरेको छ ।
नयाँ बन्ने सरकारमा राप्रपालाई सहभागी गराउने निर्णय कांग्रेस एमालेले यसअघि नै गरिसकेका छन् । कांग्रेस एमालेको निर्णयपछि पनि सरकारबाट नबाहिरिएको राप्रपाले सरकार ढल्ने निश्चित भएपछि मात्रै आफ्ना मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।
सरकारमै सहभागी राप्रपा नेपालसँग पार्टी एकताको अन्तिम चरणमा रहेको राप्रपाको यो निर्णयले एकतामा समेत असर गर्ने विश्लेषण गरिएको छ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले भने वर्तमान सरकारलाई साथ दिने बताउँदै आएको छ ।













