८ साउन, काठमाडौं । एमाले नेता माधव नेपालले संसदमा आफ्नो दलका अध्यक्ष केपी ओलीको तीव्र आलोचना गरे पनि नेपाल पक्षीय नेताहरुले भने ओलीको वचाउको पक्षमा अभिव्यक्ति दिएका छन् । नेता नेपाल पक्षीय एमाले सचिव योगेश भट्टराईले नयाँ बन्ने गठबन्धन सरकार जगबिनाको गजुर भएको भन्दै आलोचना गरेका छन् ।
एमाले सञ्चार इलाकाको विस्तारित बैठकलाई आज काठमाडौंमा सम्बोधन गर्दै पार्टीका प्रचार विभाग प्रमुख समेत रहेका भट्टराईले नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र मिलेर वर्तमान सरकार ढाल्ने कार्य सुरु गरे पनि आफ्नो पार्टी त्यसबाट नअत्तालिने स्पष्ट पारे ।
उनले काँग्रेस र माओवादीबीचका भाषा र शैलीकै भिन्नताका कारण उनीहरुको गठबन्धन दिगो हुन नसक्ने टिप्पणी गर्दै अल्पमतमा परिसकेपछि एमाले सशक्त प्रतिपक्षमा बस्न तयार रहेको बताए।
नयाँ सरकार गठनको जटिलतालाई लिएर एमालेले निहुँ नखोज्ने भन्दै भट्टराईले भने- ‘नयाँ सरकार गठनका लागि संविधानको अस्पष्टताबारे हामीलाई चिन्ता छैन । त्यसमा केही समस्या भएमा राष्ट्रपति वा सर्वोच्च अदालतबाट फुकाउने काम होला । हामी कतै गुहार्न जाँदैनौँ । एमाले प्रतिपक्षी भूमिकामा ‘च्याम्पियन’ पार्टी हो । त्यही स्थानमा हामी बस्न तयार छौँ ।’












