८ साउन, भक्तपुर । नेकपा एमालेका स्थायी समिति सदस्य सुरेन्द्रप्रसाद पाण्डेले नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र गठबन्धनमा अब बन्ने सरकार १०० दिनभन्दा टिक्न नदिने चेतावनी दिएका छन् । भक्तपुरमा शनिबार आयोजित कार्यक्रममा बोल्दै माधव नेपाल पक्षीय नेता पाण्डेले नयाँ बन्ने सरकार हनिमुनसम्मका लागि मात्रै भएको जिकिर गरेका छन्।
नेपाल खेलकुद महासङ्घ भक्तपुरले आज आयोजना गरेको ‘वर्तमान राजनीतिक एवम् संवैधानिक जटिलता र यसको निकास’ विषयको अन्तक्र्रियामा उनले काँग्रेस र माओवादी केन्द्रबीच बनेको गठबन्धन मुलुकको हितमा नभएको विचार व्यक्त गरे ।
अब बन्ने सरकारले आगामी २०७४ भित्र संसदीय चुनाव नगरी सरकार लम्ब्याउन षड्यन्त्र गर्न सक्ने भएकाले त्यसतर्फ सचेत हुँदै एमालेले नयाँ रणनीतिका साथ अगाडि बढ्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेपाल बार एसोसियसनका पूर्वउपाध्यक्ष टीकाराम भट्टराईले नेपालको संविधानमा सरकार विघटन गर्ने व्यवस्था भए पनि नयाँ सरकार बनाउने व्यवस्था नभएको जिकिर गरे । उनले नयाँ सरकार गठन गर्न संविधान संशोधन गरेर जान सके दीर्घकालीन समाधान हुने बताउँदै अन्यथा यो समस्या अर्को सरकार गठन हुँदा पनि आउने तर्क गरे ।












