७ साउन, काठमाडौं । आफैले संसदमा मतदान गरेर प्रधानमन्त्री बनाएका एमाले अध्यक्ष केपी ओलीमाथि अविश्वासको प्रस्ताव पेश गरेपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले उनको तीव्र आलोचना गरेका छन् । शुक्रबार संसद बैठकमा बोल्दै प्रचण्डले आफूलाई ओलीले भर्याङ बनाएर माथि पुगेपछि विर्सेको प्रचण्डले गरे । उनले भने- ‘माओवादीलाई उपयोग गर्ने र आफ्नो स्वार्थअनुसार भर्याङ बनाउने मात्र काम प्रधानमन्त्रीबाट भयो ।’
उनले थपे, ‘वहाँले बिर्सिनुभयो कि यो संयुक्त सरकार हो । केही प्रतिबद्धता यो सरकारले पूरा गर्नुपर्छ । तर वहाँले आफू पूर्ण छु । यो एकल सरकार हो । आफूले इच्छाए अनुसार बढ्छु भन्ने सोच्नुभयो । उहाँको इगो सेन्ट्रिक र सेल्फ सेन्ट्रिक कार्यशैली रहेको पाएँ । वहाँमा अहंकार र दम्भ देखियो ।’
प्रचण्डले केपी ओलीले नै सरकारको निरन्तरता नचाहेको आरोप लगाउँदै माओवादीलाई अहिलेको कदमका लागि धकेलेको अरोप लगाए ।
‘सरकारमा हुँदा हामीलाई कुनै न कुनै मुद्दामा फसाउँने कोसिस गरियो । त्यही भएर नौं बुदे समझदारी भयो । तर, कार्यान्वयन भएन,’ सहमति कार्यान्वयन नभएकोबारे गुनासो पोख्दै उनले भने ।
‘खोला तर्यो लौरो बिर्सियो’ नगर्न आग्रह गर्दै प्रधानमन्त्रीलाई राम्रो जति मेरो नराम्रो जति तेरो जस्तो व्यवहार नगर्न आग्रह गरे ।
उनले अहिले राष्ट्रियताको नाममा अफवाह फैलाउने कोसिस भइरहेको र राष्ट्रप्रतिको निष्ठामा प्रश्न उठाउने काम भइरहेको बारे संसद्को ध्यानाकर्षण गराए । उनले भने, ‘अहिले हाम्रो देशभक्ति र एकताप्रति प्रश्न उठाउनु बिडम्बना छ ।’
उनले पूरानो सामन्ती राष्ट्रवादको पक्षपोषण भइरहेको र आन्तरिक राष्ट्रिय एकता टुक्राउने कायम भएको प्रति चिन्ता व्यक्त गरे ।
प्रचण्डले प्रधानमन्त्रीले संघीयता मन नपरेको अभिव्यक्ति दिएको बताउँदै उनलाई गणतन्त्र नै नचाहेको आरोप लगाए । उनको लगाव राजतन्त्रप्रति रहेको आरोपसमेत लगाए ।












