६ साउन, काठमाडौं । सरकारले गठन गरेको वार्ता टोली र १२ दिनदेखि अनसनरत प्रा डा गोविन्द केसीका प्रतिनिधिबीचको पहिलो चरणको वार्ता पुनः बस्ने गरी टुङ्गएिको छ ।
स्वास्थ्य मन्त्रालयमा करिब चार घण्टा चलेको वार्ताले कुनै निष्कर्ष नदिए पनि सकारात्मक दिशातर्फ गएको दाबी गरिएको छ । सरकारी टोलीका संयोजक स्वास्थ्य सचिव डा।सेनेन्द्रराज उप्रेतीले वार्ता सकारात्मक दिशातर्फ गइरहेका र आफू आशावादी रहेको कान्तिपुरलाई बताए ।
वार्तामा चिकित्सा शिक्षा र सेवातर्फ सुधारका लागि डा केसीले सारेका सबै मागमा बुँदागत छलफल भएको थियो । केसीका प्रतिनिधि डा।जीवन क्षेत्रीले मागहरुका बारेमा गम्भीर छलफल भएको र फेरि बस्ने गरी पहिलो वार्ता सकिएको बताए ।
वार्तामा भएका छलफललाई सरकारी टोलीले प्रधानमन्त्री समक्ष र अर्को टोलीले डा केसी समक्ष पुर्याएर उनीहरुको सल्लाहपछि पुनः वार्तामा बस्ने सहमति भएको हो ।












