६ साउन, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले पदबाट राजीनामा दिनका लागि पार्टीमा सल्लाह गर्ने आश्वासन कांग्रेस र माओवादी केन्द्रलाई दिएका छन् । संसद भवनमा आज भएको तीन दलका शीर्ष नेताहरुको बैठकमा ओलीले यस्तो आश्वासन दिएको कांग्रेस नेता रामचन्द्र पौडेलले जानकारी दिए ।
प्याकेजमै सहमतिका लागि प्रधानमन्त्री केपी ओलीले राजीनामा दिने र सरकारविरुद्ध संसदमा दर्ता भएको अविश्वासको प्रस्ताव फिर्ता लिने प्रस्तावप्रति ओली नरम देखिएको उनले बताए । ओलीको यस्तो आश्वासनले उनी राजीनामा दिने मनस्थितिमा पुगेको दावी बैठकमा सहभागी नेताहरुले गरेका छन् । ओलीले पनि यतिवेला सेफ ल्याण्डिङ खोजेको र पार्टीभित्रैबाट पनि राजीनामा दिन विभिन्न नेताहरुले दवाव दिएकोले ओली यस्तो मनस्थितिमा पुगेको बताइएको छ ।
बैठकमा बजेटसँग सम्वन्धित विधेयकहरु पास गर्ने, प्रधानमन्त्रीले राजीनामा दिने र संसदमा दर्ता भएको अविश्वासको प्रस्ताव फिर्ता लिने विषयमा छलफल भएको थियो ।
सहमतिका लागि दलहरुले आन्तरिक तथा आपसी छलफल गर्ने भएका छन् ।












