६ साउन, काठमाडौँ । मनसुनी रेखा नेपालतिर भएका कारण आज देशैभर वर्षा भएको छ ।
न्यूनचापीय क्षेत्रमा मनसुनी गतिविधि केन्द्रित भएकाले त्यसको असरस्वरुप नेपालमा वर्षात् भएको मौसमविद् मीनकुमार अर्यालले राससलाई जानकारी दिए ।
“मनसुनी रेखा भनेको पानी पर्नका लागि बनेको न्यूनचापीय क्षेत्रहरुको लाइन हो, यो नेपालको पूर्वी भागबाट प्रवेश गरेको छ, न्यूनचापीय क्षेत्रमा अरबियन सागर र बङ्गालको खाडीबाट आएको जलवास्पयुक्त हावाको प्रभावले मौसममा खराबी आएको छ” – उनले भने ।
खासगरी मध्य र पूर्वी भेगमा भारी वर्षात् भएको र यो क्रम रातिसम्म जारी रहने छ, तुलनात्मक रुपमा पश्चिमी भेगमा कम पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
विगत तीन/चार दिनदेखि निरन्तर (केही घन्टा रोकिँदै) परेको वर्षात् अझै एक÷दुई दिन जारी रहने मौसमविद अर्यालले बताए ।
निरन्तरको भारी वर्षाले पूर्वी पहाडी भेगमा बाढी पहिरोका घटना बढ्नसक्ने भन्दै सर्वसाधारणलाई सतर्क रहन मौसमविद्ले सुझाएका छन् ।
महाशाखाको पछिल्लो विवरणअनुसार आज सबैभन्दा बढी सिमरामा १६० र सबैभन्दा कम ओखलढुङ्गामा ०.२ मिलीमिटर वर्षात् भएको छ ।
काठमाडौँमा १२ मिलीमिटर वर्षात् भएको छ । त्यसैगरी विराटनगरमा ७३, धनकुटामा ११, पोखरामा ३५, वीरेन्द्रनगरमा ६०, धनगढीमा १४ मिलीमिटर वर्षा भएको छ ।












