६ साउन, काठमाडौं । संसद बैठकमा अविश्वासको प्रस्ताव पहिले लैजाने र बजेट आश्रित विधेयक पहिले प्रस्तुत गर्ने तीव्र विवाद मिल्ने संकेत देखिएको छ । संसद भवन नयाँ वानेश्वरमा प्रमुख तीन दलका शीर्ष नेताहरुबीच भएको बैठकमा मध्यममार्गी तरिकाबाट सहमति हुन लागेको एक नेताले जानकारी दिए । आज ११ बजेका लागि डाकिएको संसद बैठक २ बजेलाई सार्दा पनि दलहरुबीच सहमति हुन सकेन । दलहरुबीच यही विषयमा कसरी सहमति गर्ने भन्ने विषयमा थप गृहकार्य गर्नुपर्ने भएकोले शुक्रबारसम्मका लागि संसद बैठक स्थगित गरिएको छ ।
एक नेताले गोप्य रुपमा नेपालदेशडटकमलाई दिएको जानकारी अनुसार दलहरुबीच कुरा मिल्न लागेको र दुवै प्रस्ताव एकैसाथ संसदमा प्रस्तुत गर्ने विषयमा सहमति हुन लागेको हो । प्रधानमन्त्रीउपरको अविश्वास प्रस्ताव र बजेटसँग सम्बन्धित विधेयक एउटै बैठकमा प्रस्तुत गर्ने र सोही क्रममा एकसाथ छलफल अगाडि बढाउने निर्णय दलहरुले गर्न लागेका हुन् । एउटै बैठकमा दुवै प्रस्ताव पेश हुने र दुवै प्रस्तावमा एउटै बैठकले छलफल तथा निर्णय गर्ने सहमतिमा शीर्ष नेताहरुले सहमति गर्न लागेका हुन् ।












