५ साउन, काठमाडौं । हाछ्यूँ आयो कि उपचारका लागि विदेश दौडन नेताहरुले नेपाली कांग्रेसका महामन्त्री सशांक कोइरालाबाट पाठ सिक्नुपर्ने देखिएको छ । गम्भीर अवस्थामा पुगेका सशांकलाई उपचारका लागि विदेश लैजाने भनिए पनि स्वदेशमै उपचार भएर सशांक घर फर्किएको घटनाले यो कुरालाई पुष्टी गरेको हो । आफूलाई जनताका प्रतिनिधि भन्ने तर सरकार कोषबाट रकम खर्चेर उपचारका लागि विदेश धाउने नेताहरुलाई अब जनस्तरबाट पनि दवाव दिनुपर्ने अवस्था देखिएको हो ।
१४ दिन अस्पताल बसाईपछि स्वस्थ भएर कोइराला बुधबार घर फर्किएका छन् । उनी असार २२ मा चाबहिलस्थित ओम अस्पताल भर्ना भएका थिए ।
उनलाई निमोनिया भएको र संक्रमण रगतमार्फत शरीरको सबै भागमा फैलिएपछि स्वास्थ्य गम्भीर भएको थियो ।
चिकित्सकहरुले उनलाई अझै केही समय आराम गर्न र सार्वजनिक कार्यक्रमहरु नजान सुझाव दिएका छन् ।
वुधबार डिस्चार्ज भएर घर फर्कने क्रममा कोइरालाले पत्नी सुपात्रालाई धन्यवाद समेत दिए । सुपात्रा आफैं ओम अस्पतालमा कार्यरत चिकित्सक हुन् ।
कोइरालाको स्वास्थ्य गम्भीर बनेपछि कांग्रेस सभापति शेरबहादुुर देउवा लगायतले भारत लैजाने कुरा गर्दा सुपात्राले रोकेकी थिइन् ।
कोइरालाको उपचारमा नेपालमा उपलब्ध विशेषज्ञ डाक्टरहरुको समेत संलग्नता रहेको थियो । पार्टीले एयर एम्बुलेन्समार्फत भारत लैजाने भए पनि सुपात्राले भारत नलैजाने अडान राखेकी थिइन् ।
यसअघि हालका उपराष्ट्रपति नन्नकिशोर पुनलाई पनि उपचारका लागि विदेश लैजाने कुरा भए पनि स्वदेशमै उपचार गर्ने अडान लिएका थिए । देशका यी सपूतहरुको उदाहरणलाई आगामी दिनमा अन्य नेताहरुले अवलम्बन गर्न नैतिक दवाव अवश्य दिने छ ।












