४ साउन, काठमाडौं । नेपाली कांग्रेसले संविधानको धारा २ सय ९८ को गलत व्याख्या गरेर सत्ताको आयु लम्ब्याउने कल्पना नगर्न प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह गरेको छ । नेपाली काँग्रेसको केन्द्रीय समितिको मंगलबार पार्टी मुख्यालयमा बसेको बैठकले धारा २ सय ९८ ले नयाँ सरकार गठनको मार्ग प्रशस्त गरेको निष्कर्षसहित प्रधानमन्त्री ओलीलाई अविश्वासको प्रस्ताव पारित भएपछि पनि सत्तामा बसिरहने कल्पना नगर्न आग्रह गरेको हो । काँग्रेसले संविधानमा अविश्वासको प्रस्ताव पारित भए प्रधानमन्त्री पदमुक्त हुने व्यवस्थाले नै नयाँ सरकार गठन गर्ने बाटो सुनिश्चित गरेको भन्दै आफूअनुकुल संविधानको व्याख्या नगर्न पनि प्रधानमन्त्री ओलीलाई आग्रह गरेको छ । बैठकले संविधानको गलत व्याख्या गरेर सत्ताको आयु लम्ब्याउने सपना देख्नुको साटो संसदीय व्यवस्थामा सरकार परिवर्तनलाई सहजरुपमा लिन आग्रह गरेको केन्द्रीय सदस्य महेश आचार्यले जानकारी दिए ।
बैठकमा कांग्रेस नेताहरुले प्रधानमन्त्री ओलीले गरेको संविधानको व्याख्याप्रति आपत्ति जनाएका थिए । प्रधानमन्त्रीले संविधानको जथाभावी व्याख्या गरेर सत्ताप्रति आशक्ति देखाउनु चिन्ताजनक भएको बताए ।
नयाँ सरकार गठनको विरोध गर्दै आएकी नेतृ सुजाता कोइरालाले भने संविधानको कार्यान्वयनका लागि सहमतिको आवश्यकता रहेको भन्दै एमालेसहितका दलहरुसँग सहमतिका लागि पहल गर्न पार्टी नेतृत्वलाई आग्रह गरेकी थिइन् ।
सुजाता लगायतका सदस्यहरुले एमालेलाई विच्क्याएर संविधान कार्यान्वयन हुन नसक्ने र संविधान कार्यान्वयन हुन नसकेको अवस्थामा सरकार परिवर्तन गर्नुको औचित्य पुष्टि नहुने तर्फ पनि नेतृत्वको ध्यानाकर्षण गराएका थिए ।












