४ साउन, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले पदबाट राजीनामा नदिने अडान राखेर अप्ठेरो पारेपछि कांग्रेसले ओलीलाई कडा प्रश्न गरेको छ ।
प्रधानमन्त्री पद रिक्त रहने एउटा अवस्थाका बारेमा संविधानले प्रधानमन्त्रीको निधन भएमा सो पद रिक्त रहने एउटा प्रशंगमा कांग्रेस केन्द्रीय समितिमा छलफल भएको छ । मंगलबार पार्टी कार्यालय सानेपामा भएको बैठकमा यही विषयमा कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले भने त्यसो भए प्रधानमन्त्रीको निधन भयो भने अर्को सरकार बन्दै बन्दैन त ? उनले स्पष्ट पार्दै भने तर प्रधानमन्त्रीको निधन चाहिँ नहोस् ।
सिटौलाले सरकार गठनबारे संविधानमा कुनै अस्पष्टता नरहेको भन्दै ओली निकट कानुनविद्हरुले उनलाई गलत सल्लाह दिएर जग हँसाउने काम गरेको बताए ।
संविधानको मस्यौदा समितिका सभापति भएर काम गरेका सिटौलाले सरकार गठनबारे संविधानमा अस्पष्टता भएको भन्नु हास्यास्पद भएको उल्लेख गर्दै भने – ‘संविधानमा प्रष्ट लेखिएको छ । व्यवस्था नै छैन भन्ने बाहियात कुरा हो ।’
उनले संक्रमणकालमा एउटा सरकार मात्र बन्ने भए अविश्वासको प्रस्ताव दर्ता गर्न सक्ने र विश्वासको मत लिनु पर्ने धारा किन राखेको भनी प्रश्न समेत गरे ।
संविधान आफूहरुले बनाउने तर, सरकार गठनबारे के व्यवस्था छ हेर, हेर भनेर कानुनविदहरुलाई आग्रह गरेर दलहरुले जग हँसाउने काम गरेको उनले बताए ।
प्रधानमन्त्री पद रिक्त हुने व्यवस्था नयाँ संविधानले गरे पनि नयाँ सरकार बन्न नसक्ने भन्दै सोही पदमा बहाल प्रधानमन्त्री केपी ओलीले जिकिर गरिरहेका छन् । कांग्रेसको यस्तो तिखो प्रहार आएपछि अब ओलीले कतिसम्म तिखो जवाफ फर्काउलान् त ?













