३ साउन, काठमाडौं । राजधानीको ओम अस्पतालमा उपचाररत नेपाली कांग्रेसका महामन्त्री डा सशांक कोइरालालाई मंगलबार डिस्चार्ज गरिने भएको छ । कोइरालाको स्वास्थ्यमा उल्लेखनीय सुधार आएकोले उनलाई अस्पतालले भोलि डिस्चार्ज गर्ने भएको हो ।
अहिले कोइरालाको स्वास्थ्यस्थिति ठीक अवस्थामा पुगेको उपचारमा संलग्न डा. हरिश जोशीले जानकारी दिए । डिस्चार्ज गरेपछि उनलाई नशाबाट औषधि दिइने छैन । उनलाई भोलिसम्म नशाबाट औषधी दिइने छ ।
मंगलबार औषधिको मात्रा पूरा हुने भएको अहिले उनले साधारण खानपान गर्न थालेकोले कुनै समस्या नरहेको चिकित्सकहरुले जानकारी दिएका छन् । उनको रक्तचाप, मुटुको धड्कन र पिसाबको मात्रा पनि सामान्य अवस्था आइसकेको डा जोशीले जानकारी दिए ।
असार २१ गते कोइराला अकास्मात विरामी परेपछि ओम अस्पतालमा भर्ना गरिएको थियो । अचेत अवस्थमा पुगेर अति संवेदनशील घडीमा पुगेका कोइरालालाई सघन उपचार कक्षमा राखी उपचार गरिएको थियो । संवेदनशील अवस्थाकै कारण उनलाई उपचारका लागि भारत समेत लगिएको थिएन । उनको स्वास्थ्यमा चमत्कारिक सुधार आएको चिकित्सकहरुले बताइसकेका छन् । कोइरालाको मस्तिष्क मरिसकेको समेत उपचारमा संलग्न चिकित्सकहरुले बताएका थिए ।












