३ साउन, काठमाडौं । संघीय गठबन्धनले वर्तमान सरकारसँग वार्ता हुन नसक्ने निष्कर्ष निकाल्दै फेरि नयाँ आन्दोलन घोषणा गरेको छ । केपी ओली प्रधानमन्त्रीबाट हट्ने निश्चित भैसकेपछि अनशनको अन्त्य गरेको गठबन्धनले अब प्रतीकात्मक र सामान्य आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।
संघीय समाजवादी फोरम नेपालको कार्यालय तीनकुनेमा आज बसेको गठबन्धनको बैठकले वर्तमान सरकारको अहमताका कारण वार्ता हुन नसक्ने निष्कर्ष निकालेको हो ।
बैठकमा अधिकांश नेताले सरकारले जनचाहना अनुसार काम गर्न नसकेको, मधेस विरोधी भावना राखेका कारण वार्ता हुन नसकेको बताएका थिए ।
गठबन्धनले सरकारविरुद्ध आएको अविश्वासको प्रस्तावको समर्थन गर्दै गठबन्धनलाई हेर्ने दृष्टिकोणका आधारमा नयाँ बन्ने सरकारमा सहभगी हुने÷नहुने निर्णय लिइने जनाएको छ ।
बैठकले गठबन्धनको आन्दोलनको समीक्षा गर्दै निरन्तरता दिने पनि निर्णय गरेको छ । रिले अनसन सकारात्मक भएकाले आन्दोलनका रचनात्मक नयाँ कार्यक्रम पनि सार्वजनिक गरेको छ ।
यही साउनदेखि क्षेत्रीय स्तरमा समसामयिक राजनीतिक परिस्थितिको सम्बन्धमा बुद्धीजीविहरुसँग छलफल गर्ने निर्णय पनि बैठकले गरेको छ ।












