३ साउन, काठमाडौं । ९ दिनदेखि आमरण अनसनमा रहेका डा गोविन्द केसीको मागमा संसदीय समितिले चासो देखाएको छ । व्यवस्थापिका संसदको सामाजिक न्याय तथा मानवअधिकार समितिले केसीका मागप्रति चासो देखाउँदै मागको सुनुवाइ गर्न सरकारलाई निर्देशन दिने भएको हो ।
समितिका सभापति सुशीलकुमार श्रेष्ठसहित समितिका १० सांसद केसीलाई भेट्न आज शिक्षण अस्पताल पुगका हुन् । तर, केसीका मागका विषयमा सोही समितिभित्र पनि सांसदहरुबीच विभाजन रहेको छ । ४४ सदस्यीय सामाजिक न्याय तथा मानवअधिकार समितिबाट १० सांसद मात्रै केसीको अनशनस्थल पुग्नुले यसलाई प्रष्ट पारेको छ ।
एमाले नेताहरुले संचालन गर्ने मनमोहन मेमोरियल मेडिकल कलेज खोल्न नदिने षडयन्त्रमा केसी लागेको आरोप एमालेले लगाउँदै आएको छ । फलस्वरुप मानवअधिकार समितिको टोलीमा एमाले सांसदहरु सहभागी भएनन् ।
अनशनरत केसीलाई भेटेपछि समितिका सभापति श्रेष्ठले प्रतिक्रिया दिंदै माग तत्काल पूरा गर्न सरकारलाई निर्देशन दिने बताए ।












