२ साउन, काठमाडौं । त्रिवि शिक्षण अस्पताल हातामा रहेको एउटा सानो कोठामा सात दिनदेखि आमरण अनसनरत डा गोविन्द केसीले शनिबार नेता, सांसद र आफ्नो आन्दोलनबारे चर्चा हुँदा आफूलाई सम्हाल्न सकेनन् ।
भक्कानिएर रोए । नेता र सांसदले जनताको लागि नभएर माफियाको लागि काम गरिरहेको भन्दै उनी रुन थालेका थिए ।
चिकित्सा क्षेत्रको सुधारको मागसहित प्रा डा गोविन्द केसी आठौंपटक अनसन बसे पनि सरकार ‘टस न मस’ छ ।
सरकार बदल्ने खेलमा लागेका नेताहरुको ध्यान केसीको स्वास्थ्यमाभन्दा सिंहदरवारको कुर्सीमा तानिएपछि उनको मागमा सरोकारवालाको चासो देखिएको छैन । अनसनले स्वास्थ्य गलेको छ, तर उनको आत्मविश्वास घटेको देखिएको छैन ।
शनिबार पनि डा केसी एक्लै आँखा चिम्म पारेर पल्टेका थिए । त्यहाँ संस्कृतको कुनै गितीमय श्लोक बजिरहेको थियो । एकजना नर्स भित्र पसिन् र केसीको ब्लडप्रेसर जाँचिन् । नर्स बाहिरिएपछि केसीले केही बोल्ने प्रयास गरे ।
एउटै मागमा आठ–आठ पटक बसे पनि कुनै पनि सरकारले संवेदनशीलता नदेखिएको भन्दै उनले असन्तुष्टि पोख्दै थिए । उनले आफ्नो मागमा खुलेर निस्कनुपर्ने चिकित्सकहरु पनि आतंकका कारण निस्किन नसकेको बताए । यति के बोलेका थिए, उनी एक्कासी भक्कानिएर रुन थाले ।
डा। केसी बोलिरहँदा खाट तल राखिएको ‘निहोन कोडेन’ मनिटरमा हरियो झिलिक–झिलिक बलिरहेका थियो । सँगै विप–विपको आवास सुनिरहेको थियो । तर, केसी रुन थालेपछि नै मोनिटरमा एकाएक खतराको संकेत गर्ने साइरनसँगै रातो बत्ती बल्न थाल्यो । यो क्रम करिव एक मिनेट सम्म जारी रह्यो । (कान्तिपुरबाट)












