१ साउन, टर्की । टर्कीको सेनाले गरेको सत्ता कब्जाको प्रयासलाई त्यहाँका जनताले असफल पारिदिएका छन् । हजारौं जनता सडकमा उत्रिएर सेनासहितका करिब ३ हजारलाई जनताले नै पक्राउ गरेपछि सैन्य कूको प्रयास असफल भएको हो । सैन्य कूलाई निस्तेज पार्न हजारौं जनता सडकमा आएका छन् ।
सत्ता कब्जाका लागि परिचालित १०४ जना मारिएका छन् भने उच्च सैनिक अधिकारीसहित २ हजार ८ सय बढी सैनिक पक्राउ परेका छन् ।
टर्कीका कार्यवाहक सेना प्रमुखकाअनुसार सैन्य बलको एक समूहले गरेको सत्ता कब्जाको प्रयास असफल भएको छ । प्रधानमन्त्री बाइनलाइ इलदिरिमका अनुसार अहिलेसम्म उच्च सैनिक अधिकारीसहित २८३८ सैनिक पक्राउ परेका छन् ।
राष्ट्रपति रेचप तैयब एर्दोआन छुट्टी मनाउन गएको बेला सैन्य कूको प्रयास भएको थियो ।
सेनाको एक समूहले राष्ट्रिय टेलिभिजनमार्फत सत्ता कब्जाको घोषणा गर्नुका साथै कफ्र्यू लगाएको थियो । सेनाका बख्तरबन्ध गाडीहरु सडकमा आएको थियो ।
रातभर राजधानी अंकारामा गोलाबरी समेत भयो । यस क्रममा सैन्य कूको प्रयासमा संलग्न बाहेक ९० जनाको मृत्यु भएको छ भने ११५४ जना घाइते भएका छन् ।
टर्कीका राष्ट्रपति एर्दोआनाले लोकतन्त्रका लागि सडकमा आउन जनतालाई अपील गरे । छुट्टी मनाउन गएका उनी देश फर्किएका छन् र यसलाई देशद्रोहको संज्ञा दिएका छन् ।
इस्तानबुलको बोसफोरस पुलमा रहेका बिद्रोही सैनिकहरुले आत्मसमर्पण गरेका छन् । सडकमा उत्रिएका राष्ट्रपतिका समर्थकहरुले बिद्रोही सैनिकमाथि बेल्टले होनेको तथा सैन्य टंकहरु कब्जामा लिएको फुटेज सरकारी टीभीमा देखाइएको छ ।
बिद्रोही सैनिकहरुको हिरासतमा रहेका सेना प्रमुखलाई उद्धार गरिएको अधिकारीहरुले बताएका छन् । इस्तानबुलको विमानस्थल सेनाको नियन्त्रणमा आएको छ र उडान तथा अवतरण सुरु भएको छ ।
सेनाको हेलिकोप्टरमा ग्रिस पुगेका ८ जनालाई फिर्ता पठाइएको छ, जो शरण माग्न ग्रिस पुगेका थिए । केही उच्च सैनिक अधिकारीलाई हटाइएको छ ।
सैन्य कूको योजनाकार अझै प्रष्ट भएको छैन । तर, टर्कीका राष्ट्रपति र प्रधानमन्त्रीले सैन्य कूको प्रयासको आरोप निर्वासित इस्लाम धर्मगुरु फतहुल्लाह गुलेनमाथि लगाएका छन् । गुजेनको पक्षमा उभिने देश टर्कीको मित्र हुने नसक्ने र उक्त देशसँग युद्ध भए सरह मानिने बताएको बीबीसीले जनाएको छ । कू को योजनाकार को हो भन्ने अझै खुल्न सकेको छैन ।












