३१ असार, काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले साउन १० गते नेपाल बन्दको घोषणा गरेको छ । शुक्रबार काठमाडौंमा माओवादी केन्द्रीय कार्यालयले पत्रकार सम्मेलन गर्दै साउन १० गते नेपाल बन्द गर्ने घोषणा गरेको हो ।
सर्लाहीको सुकुम्वासी बस्तीमा सरकारले दमन जारी गरेको भन्दै त्यसको विरोधमा नेपाल बन्दको घोषणा गरिएको पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्माले जानकारी दिए ।
पत्रकार सम्मेलनमा प्रवक्ता खडगबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले एक प्रेस विज्ञप्ति जारी गर्दै पार्टीको घोषणा सुनाएका हुन् ।
सरकारले सुरक्षा फौज परिचालन गरेर सर्लाहीको सागरनाथ सुकुम्वासी बस्तीमा बर्बर दमनको क्रमलाई जारी राखेको भन्दै विरोधस्वरुप नेपाल बन्दको घोषणा गरेको छ । विज्ञप्तीमा भनिएको छ ।
नेपाल बन्द गर्नुपहिले साउन १ देखि साउन १० गतेसम्म विरोधका कार्यक्रम सुकुम्वासीमाथि सरकारको दमन तत्काल बन्द गर्न आग्रह गर्ने उनले बताए ।
बाहिरबाट हेर्दा सर्लाही सुकुम्बासी वस्तीमा सरकारले केही नगरेको जस्तो देखाइएको तर राज्यले निर्मम दमन गरिरहेको दावी माओवादीले गरेको छ ।
प्रहरी दमनबाट सुकुम्वासी संजीव बम्जनको बायाँ आँखा गुमेको माओवादीले जनाउको छ । प्रहरीले हानेको उनको गोली टाउकोमा पुगेर अड्किएको चितवन मेडिकल कलेजले जनाएको छ । त्यस्तै घटनामा १२ जना सख्त घाइते भएको समेत जनाइएको छ ।
सर्लाहीको सागरनाथमा हाल करिब ५ हजार सुकुम्वासी बसोबास गर्दै आइरहेका छन् ।














