२९ असार काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली स्वतः अल्पमतमा परेको ठहर गरेको छ । आज बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सत्ता साझेदार दल माओवादी बाहिरिएपछि सरकार अल्पमतमा परेको भन्दै प्रधानमन्त्रीले स्वतः राजीनामा दिनुपर्ने निर्णय गरेको हो ।
यसैबीच वर्तमान सरकार ढाल्न र नयाँ सरकार गठन गर्नका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र आफ्नो दलका सभापति शेरबहादुर देउवाबीच मंगलबार हस्ताक्षरित सहमतिलाई अनुमोदन समेत गरेको छ । सहमति कार्यान्वयन गर्ने लगायत कांग्रेसले गरेको ४ बुँदे निर्णय यस्तो छ :
१. नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका वीच २०७३ आषाढ २८ गते भएको सहमति अनुसार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ द्वारा हस्ताक्षरित सहमति पत्रहरूलाई अनुमोदन गर्दै सो को कार्यान्वयन गर्ने निर्णय गर्दछ ।
२. नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारवाट नेकपा ९माओवादी केन्द्र० ले आफ्नो समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार स्वतः अल्पमतमा परेको स्पष्ट भएको छ । तसर्थ, प्रधानमन्त्री पदबाट केपी शर्मा ओलीले तत्काल राजीनामा गरि नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न बैठक माग गर्दछ ।
३. व्यवस्थापिका–संसदमा स्पष्ट वहुमत गुमाई सकेर अल्पमतमा परिसकेपछि पनि प्रधानमन्त्री पदवाट केपी शर्मा ओलीले राजीनामा नगरेको हुुँदा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र सहितका दलले व्यवस्थापिका–संसदमा वर्तमान सरकारका विरूद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने निर्णय गर्दछ ।
४. अकस्मात अस्वस्थ हुनु भई उपचारार्थ ॐ अस्पताल चावहिलमा भर्ना हुनुभएका नेपाली कांग्रेसका महामन्त्री डा. सशांक कोइरालाको स्वास्थ्य अवस्थामा आएको सुधारप्रति सन्तोष व्यक्त गर्दै उहाँको उपचारमा संलग्न चिकित्सक दलका सम्पूर्ण सदस्यहरूप्रति बैठक हार्दिक धन्यवाद प्रकट गर्दछ । साथै, महामन्त्री डा सशांक कोइरालाको शीघ्र पूर्ण स्वास्थलाभको कामना गर्दछ ।












