२७ असार, काठमाडौं । करिब ९ करोड रुपैयाँको नक्कली बैंक ग्यारेण्टी सकारेर भ्रष्टाचार गरेको अभियोग लागेका नेपाल टेलिभिजनका महाप्रबन्धक लक्ष्मण हुमागाईंलाई पदीय जिम्मेवारीबाट नहटाइएको विषयलाई लिएर प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सांसद्हरुले आपत्ति जनाएका छन् । व्यवस्थापिका संसद्को सार्वजनिक लेखा समितिको मंगलबार सिंहदरबारमा बसेको बैठकमा काँग्रेसका सांसद्हरुले सूचना तथा संचार मन्त्रालयले समितिको निर्देशन अटेर गरेर महाप्रबन्धक हुमागाईंलाई पदमा कायम राखेको भन्दै आपत्ति जनाएका हुन् । समितिको असार १२ गतेको बैठकले संचार मन्त्रालयले नै गठन गरेको छानविन समितिले नक्कली बैंक ग्यारेण्टी प्रकरणमा भ्रष्ट्राचार भएको ठहर गरेको अवस्थामा महाप्रबन्धक हुमागाईं लगायतका दोषीलाई जिम्मेवारीबाट हटाउन निर्देशन दिएको थियो । तर एमाले संचारमन्त्री शेरधन राईको योजनामा संचार मन्त्रालयले समितिको निर्देशन कार्यान्वयन गर्न कानूनी अष्पष्टता भएको भन्दै मन्त्रीस्तरीय निर्णयबाट पत्र पठाइ महान्यायाधीवक्ताको कार्यालयसँग परामर्श मागेपछि काँग्रैसका सांसद् आक्रोशित भएका हुन् ।
काँग्रेसका सांसद्हरुले समितिको निर्णय कार्यान्वयन नगरिएको विषयमा समितिले सूचना तथा संचारमन्त्री शेरधन राईसँग स्पष्टिकरण लिनुपर्ने अन्यथा समितिले बैठक गर्नुको औचित्य नहुने बताए । धनराज गुरुङ रामहरि खतिवडा, मोहनबहादुर बस्नेत, उषा गुरुङ र डा. मिनेन्द्र रिजालले धारणा राख्दै यसबारे आपत्ति जनाएका थिए ।
काँग्रेसका सांसद्हरुले आफूले यसअघि दिएको निर्देशन कार्यान्वयन नभएको अवस्थामा अरु विषयमा छलफल गर्नुको औचित्य नभएको बताएपछि समितिले असार ३० गतेको बैठकमा सूचना तथा संचार मन्त्री शेरधन राई र संचार सचिव दिनेश थपलियालाई बोलाउने निर्णय गरेको छ ।














