असार २८, २०७३ । नेकपा माओवादी केन्द्र वर्तमान सरकारबाट फिर्ता भएपछि अबको सत्ता साझेदारीका लागि कांग्रेस सभापति शेरबहादुर देउवा गृहकार्यमा लागेका छन् । देउवाले आझै पदाधिकारी बैठक बोलाएर सत्ता साझेदारीको अवधारणाबारे छलफल गर्दैछन् ।
सुरुमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गर्ने र प्रदेश सभाको निर्वाचन पहिले आफू प्रधानमन्त्री बन्ने गरी देउवाले योजना तयार पारेका छन् । यही योजनामा देउवा र प्रचण्डबीच सहमति भएपछि माओवादी केन्द्रले सरकार छाडेको हो ।
सुरुमा नौ महिनाका लागि सरकारको नेतृत्व प्रचण्डलाई दिने र सोही सरकारले स्थानीय तहको निर्वाचन गर्ने सहमति कांग्रेस र माओवादीबीच भएको स्रोतले जनाएको छ । स्थानीय तहको निर्वाचनपछि काँग्रेस सभापति देउवा प्रधानमन्त्री बन्ने र उनैको नेतृत्वमा प्रदेश सभा तथा संघीय संसदको चुनाव गराउने कुरामा दुवै दल सहमत भएका हुन्
कांग्रेस र माओवादीबीच सोमबार छलफल भए पनि मंगलबार मात्रै यस विषयमा सहमति भएको जनाइएको छ । सहमतिलगत्तै माओवादीले सरकार छाडेको हो ।












