२८ असार, काठमाडौं । नयाँ सरकारको नेतृत्व माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई दिन कांग्रेस सहमत भएको जानकारी माओवादीले दिएको छ । नेकपा माओवादी केन्द्रले मंगलबार आफ्नो संसदीय दल सिंहदरबारमा पत्रकार सम्मेलन गरेर कांग्रेसको पत्र आइसकेको जानकारी दिएको हो । ‘पहिलो चरणमा केही समयका लागि प्रचण्डलाई प्रधानमन्त्री बनाउने प्रतिवद्धता पत्र नेपाली कांग्रेसले पठाइसकेको छ ।’ माओवादी नेता कृष्णबहादुर महराले भने ।
पहिलो चरण भनेको कति समयका लागि भन्ने विषयमा भने छलफल भैरहेको उनले जानकारी दिए । अन्तिम निर्णय भएपछि कांग्रेसले वुधबार पत्रकार सम्मेलन गरेर यसबारे जानकारी दिने पनि महराले बताए ।
केपी ओली नेतृत्वको सरकारबाट समर्थन फिर्ता लिएको औपचारिक जानकारी दिंदै महराले आयोजना गरिएको पत्रकार सम्मेलनमा महराले पहिलो चरणमा प्रचण्ड प्रधानमन्त्री बन्ने र शेरबहादुर देउवाले चुनावी सरकारको नेतृत्व गर्ने सहमति भएको जानकारी दिए ।
पत्रकार सम्मेलनमा माओवादी अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी भने उपस्थित थिएनन् । एकीकरणमा आएको माओवादी शक्तिको प्रतिनिधित्व गर्दै प्रवक्ता पम्फा भुसाल सहभागी थिइन् ।












