साउन दोस्रो साताभित्र राप्रपा र राप्रपा नेपाल एकीकरण भएपछि संसदमा चौथो ठूलो दलका अध्यक्ष रहेका कमल थापाको पार्टीमा वरियताक्रम भने चौथो स्थानमा पुग्ने भएको छ । पार्टीका शीर्ष नेताहरुको वरियता क्रम मिलाउँदा पहिलो वरियतामा लोकेन्द्रबहादुर चन्द, दोस्रो वरियतामा पशुपति शमशेर राणा, तेस्रो वरियतामा डा प्रकाशचन्द्र लोहनी र चौथो वरियतामा कमल थापा रहने गरी सहमति भएका राप्रपाका केन्द्रीय सदस्य वसन्तमान सिंह अधिकारीले जानकारी दिए ।
पार्टीमा चौथो वरियता रहे पनि कमल थापालाई अध्यक्षको पद दिइने छ । थापा अध्यक्ष र चन्द राष्ट्रिय अध्यक्ष रहने गरी एकीकरण हुन लागेको हो । अध्यक्ष र राष्ट्रिय अध्यक्षमा कुन पद ठूलो हो भन्ने प्रश्नमा अधिकारीले भने – ‘राष्ट्रिय अध्यक्ष नै ठूलो पद हो । अध्यक्ष पदमा बहाली हुने थापाको पार्टीमा वरियता क्रमचाहिँ चौथोमा पर्दछ ।’
पार्टीमा कार्यकारी अधिकार अध्यक्षको रहन्छ कि रहँदैन भन्ने प्रश्नमा उनले – ‘भने कार्यकारी अधिकारी अध्यक्ष थापालाई केही बढी रहन्छ तर राष्ट्रिय अध्यक्ष र गठन हुने निर्देशन समितिको सहमतिविना अध्यक्ष थापाले कुनै पनि निर्णय गर्न पाउनुहुने छैन ।’
एकीकरण हुन लागेका राप्रपाका अध्यक्ष चन्द रहेका छन् भने राप्रपा नेपालका अध्यक्ष थापा रहेका छन् ।













