२८ असार, काठमाडौं । कांग्रेस कार्यकर्ता हुँदै प्रधानन्यायधीश बनेकी नवनियुक्त प्रधानन्यायाधीश सुशीला कार्कीले जनयुद्धकालीन मुद्दाप्रति चासो राखेकी छिन् । माओवादी जनयुद्धकालमा भएको कांग्रेस कार्यकर्ता उज्जैन श्रेष्ठको हत्या प्रकरणमा कार्कीको चासो बढेको हो । उनले चासो मात्रै बढाएकी हैनन् माओवादी नेता पक्राउ नगरेकोमा प्रहरीप्रति नै गुनासो गरेकी छिन् ।
सोमबार पदवहाली गरेसँगै कार्कीले सर्वोच्च अदालतबाट सर्वस्वसहित जन्मकैदको सजाय तोकिएका माओवादीका पूर्वसभासद् बालकृष्ण ढुंगेललाई प्रहरीले पक्रन नमानेको खुलासा गर्दै आफ्नो चासो देखाएकी हुन् ।

न्यायालयबाट भएका फैसला कार्यान्वयन नहुँदा दण्डहीनता बढेर कानुनको शासनमा चुनौती खडा भएको भन्दै सञ्चारकर्मीले राखेका प्रश्नको जवाफ दिने क्रममा कार्कीले यस्तो धारणा व्यक्त गरेकी थिइन् ।
‘जहाँसम्म त्यो नेता (ढुंगेल)का विषयमा तपाईंहरूले सोध्न खोज्नुभएको होला । न्यायाधीशहरू गएर पक्रने कुरा भएन । पुलिसलाई भन्यो पक्रँदैन’, कार्कीले भनिन्, ‘हामी भेट्दैनौं । यो कुरा नगर्नुहोला । मैले तपाईंहरू (पत्रकार) लाई पहिल्यै बाँधें । यसबारे अरू थप नसोध्नोस् ।’
कार्कीसमेत संलग्न सर्वोच्च अदालतको संवैधानिक इजलासले गत पुस २३ गते द्वन्द्वकालको एउटा हत्या घटनामा मुछिएका ढुंगेललाई कैदबाट माफी दिने गरी मन्त्रिपरिषद्बाट राष्ट्रपतिसमक्ष गरिएको सिफारिस खारेज गरेको थियो ।
सर्वोच्चले अन्तिम फैसला कार्यान्वयन गर्न अदालतमा समर्पण नगरी माफी दिँदा कानुनी शासनको सिद्धान्त उल्लंघन हुने ठहर गरेको थियो ।











