२७ असार, काठमाडौं । प्रधानन्यायाशीध सुशीला कार्कीले सर्वोच्च अदालतको प्रधानन्यायधीशको पदभार ग्रहण गरेकी छिन् । पहिलो महिला प्रधानन्यायधीशका रुपमा कार्कीले आजदेखि आफ्नो जिम्मेवारी सम्हालेकी हुन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आज विहान कार्कीलाई पद तथा गोपनीयताको शपथ गराएकी थिइन् ।राष्ट्रपति भवन शीतलनिवासमा आयोजित विशेष समारोहमा कार्कीले शपथ लिएलगत्तै सर्वोच्च पुगेर पदभार ग्रहण गरिन् ।
कार्कीलाई सो पदमा नियुक्ति गर्न गत चैत २८ मा संवैधानिक परिषद्ले गरेको सिफारिसलाई संसदीय विशेष सुनुवाइ समितिले आइतबार अनुमोदन गरेको थियो ।
कार्कीको नियुक्तिसँगै सर्वोच्चमा महिलाहिंसाका मुद्दाले प्राथमिकता पाउने आशा गरिएको छ । न्यायपालिका प्रमुखमा कार्कीको नियुक्तिसँगै राज्यका प्रमुख तीनै अंगका प्रमुखमा महिला नेतृत्व कायम हुन पुगेको छ । राष्ट्रप्रमुखको पदमा विद्या भण्डारी रहेकी छिन् भने संसदको सभामुखको जिम्मेवारी ओनसरी घर्ती मगरले सम्हालिरहेकी छिन् ।












