२७ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सहमतिको सरकार गठनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीसँग सोमबार अन्तिम तथा निर्णायक वार्ता गर्ने निर्णय गरेको छ । वार्ताको जिम्मा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिइएको छ ।
पछिल्लो राजनीतिक अवस्था र राष्ट्रिय सरकार गठनको प्रयासबारे छलफल गर्न सोमबार बिहान अध्यक्ष प्रचण्डको निवास लाजिम्पाटमा माओवादी कार्यालयको बैठक बसेको थियो ।
बैठकले सहमति कार्यान्वयनबारे अन्तिम र निर्णायक वार्ता गर्ने निर्णय गरेको जानकारी नेता गोपाल किराँतीले दिए । प्रधानमन्त्री ओलीसँग वार्ता आजै हुने माओवादीले जनाएको छ ।
गत वैशाख २३ गते एमाले र माओवादीबीच भएको नौ बुँदे सहमतिसँगै तीन बुँदे भद्र सहमति पनि भएको भन्दै माओवादीले त्यसको कार्यान्वयन गर्न माग गर्दै आएको छ । सत्ता हस्तान्तरण भद्र सहमतिको मुख्य विषय भएको माओवादी नेताहरुको दाबी छ ।
माओवादीले संविधान कार्यान्वयन, भूकम्प पीडितलाई राहत, पुनर्निर्माण र शान्ति प्रक्रियाका बाँकी कार्यभार टुंगो लगाउन राष्ट्रिय सहमतिको सरकार गठनमा जोड दिँदै आएको छ ।
प्रचण्डलाई सत्ता हस्तान्तरण गर्ने भनी भएको भद्र सहमतिको कार्यान्वय ओलीले नगर्ने भए माओवादी केन्द्रले सरकारबाट बाहिरिएर नयाँ सरकार गठनको पहल थाल्ने निर्णय समेत गरेको छ ।












