२६ असार, कीर्तिपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक भाषणमा उट्पट्याङ् कुरा गर्न छाड्दैनन् भन्ने कुरा प्राज्ञिक संस्था विश्वविद्यालयका विद्धान प्राध्यापकहरुको अगाडि समेत प्रमाणित गरेका छन् । आफ्नो राजनीतिक दलका कार्यकर्तालाई पदाधिकारी नियुक्ति दिने प्रधानमन्त्री ओलीले उल्टै प्राध्यापकहरुलाई राजनीतिमा नलाग्न आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीले आइतबार त्रिभुवन विश्वविद्यालय सभाको साधारण बैठकमा शिक्षण विधि र परीक्षा प्रणालीमा सुधार गर्न विश्वविद्यालयका पदाधिकारीलाई निर्देशन दिँदै प्राध्यापकले राम्रो नपढाएका कारण विद्यार्थीहरु फेल हुने गरेको बताए ।
प्रधानमन्त्री ओलीले विश्वविद्यालयका प्राध्यापकहरुलाई पठनपाठन छोडेर राजनीतिमा लाग्नबाट रोक्न पनि विश्वविद्यालयका पदाधिकारीलाई निर्देशन दिए । उहाँले त्रिभुवन विश्वविद्यालयमा पंचायतकालमा भन्दा पनि बढी राजनीतिकरण मौलाएको र त्यसले पठनपाठनको स्तर कमजोर बन्दै गएको भन्दै प्राध्यापकहरुलाई राजनीतिमा भन्दा पठनपाठनमा संलग्न हुन आग्रह गरे ।
समूहमा पठनपाठनको गुणस्तर सुधार गर्न त्रिभुवन विश्वविद्यालयका पदाधिकारीलाई ओलीले निर्देशन दिए ।
त्रिभुवन विश्वविद्यालयले भुकम्पबाट क्षति पुगेको १४ महिनापछि ओलीले कुलपतिको हैसियतले उपकुलपतिको कार्यालयको पुनर्निमाण प्रारम्भ समेत गरे । प्रधानमन्त्री केपी शर्मा ओलीले उपकुलपति कार्यालय भवनको शिलान्यास गरेका थिए । त्रिभुवन विश्वविद्यालयले भवन पुनर्निमाणका लागि आगामी आर्थिक वर्षका लागि ८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । त्रिविले शिक्षाध्यक्षको कार्यालय भवन बनाउन ५ करोड तथा स्कुल अफ म्याथम्याटिकल साइन्सेज भवन निर्माण गर्न ५ करोड रुपैयाँ छुट्टाएको छ । राष्ट्रिय पुनर्निमाण प्राधिकरणले त्रिभुवन विश्वविद्यालय र अन्र्तगतका विभाग तथा क्याम्पसहरुको पुनर्निमाणका लागि ६४ करोड ६४ लाख रुपैयाँ दिएको छ ।
त्रिवि विश्वका विश्वविद्यालयहरुको सूचीमा ४ हजार २ सय ४१ औं स्थानमा पर्छ ।












