२६ असार, काठमाडौं । उत्तरी छिमेकी चीनसँगको सम्बन्ध नयाँ रुपमा विकसित भैरहेका वेला नेपाल सरकारले यसलाई अझ मजबुद बनाउन गैंडा उपहार दिने निर्णय गरेको छ । आइतबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रीपरिषद् बैठकले चीनलाई दुई जोडी गैंडा दिने निर्णय गरेको हो । २ वटा भाले र २ वटा पोथी गैंडा उपहारस्वरुप दिइने छ । अध्ययन अनुसन्धान र शिक्षा प्रवद्र्धनका लागि चीनलाई दुई जोडी गैंडा दिने निर्णय गरेको जानकारी सूचना तथा संचारमन्त्री शेरधन राईले दिए ।
मन्त्रीपरिषद् बैठकले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई विशिष्ट सेवा संचालनका लागि उपकरण खरिद् गर्न २० करोड रुपैयाँ उपलब्ध गराउने निर्णय पनि गरेको छ । बैठकले पूर्वमन्त्री माधव पौडेललाई नेपाल कानून आयोगको अध्यक्षमा नियुक्त गरेको छ ।
सत्तारुढ नेकपा एमाले निकट पौडेलले अन्तरिम मन्त्रीपरिषद्मा शिक्षा र सूचना तथा संचार मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । सरकारले निजामती सेवामा इन्जिनियरिङ्ग सेवा तर्फबाट रामानन्दप्रसाद यादवलाई सचिवमा बढुवा गरेको छ । । यस्तै बैठकले नेपाली सेनाका १० जना प्रमुख सेनानीलाई महासेनानीमा बढुवा गरेको छ भने १६ जना महासेनानीको सरुवाको निर्णय गरेको संचारमन्त्री राईले जानकारी दिए ।
सरकारले प्रदेशका मुख्य मन्त्री र प्रदेश प्रमुखको पारिश्रमिक तथा अन्य सुविधा सम्बन्धी विधेयक तयार पार्नका लागि सैद्धान्तिक सहमति प्रदान गरेको छ ।











