समाचार विश्लेषण
२४ असार, काठमाडौं । नयाँ निर्वाचनमा जानुभन्दा पहिले निर्वाचन आयोग र न्यायलय लगायतका संवैधानिक अंगमा आफू निकट व्यक्ति भर्ना गर्ने षडयन्त्रमा कांग्रेस असफल भएको छ । २०४८ पछिका सबै निर्वाचनमा संवैधानिक अंगमा आफ्ना व्यक्ति भर्ना गरेर एकछत्र राज्य गरेको कांग्रेसलाई विस्थापित गर्दै अब ती सबै अंगमा एमालेले आफ्नो कब्जा जमान लागेको हो । यद्यपि अहिले प्रमुख निर्वाचन आयुक्तका लागि संसदीय सुनुवाइ समितिले नाम अनुमोदन गरेको डा. अयोधिप्रसाद यादव माओवादी निकट हुन् । माओवादी निकट भए पनि यादवबाट एमालेलाई अप्ठेरो नपर्ने निष्कर्ष एमालेले यसअघि नै निकालिसकेको छ ।
कांग्रेसको लामो समयको अवरोधका बाबजुद संसदीय सुनुवाइ समितिले पूर्णता पाएपछि शुक्रबार प्रमुख निर्वाचन आयुक्तका लागि सिफारिश भएका अयोधिप्रसाद यादवको संसदीय सुनुवाइ सकिएको छ । सुनुवाइको विरालो बाँध्ने प्रक्रिया पूरा भएसँगै यादवको नाम समेत अनुमोदन भएको छ । अब यादव राष्ट्रपतिबाट नियुक्ति पाएर प्रमुख निर्वाचन आयुक्त बन्नेछन् ।
अयोधि लगायतको संवैधानिक नियुक्तिका लागि पनि नेकपा माओवादी केन्द्रले केहीबेर एमालेसँगै सहकार्य गरेको विश्वस्त स्रोतले बताएको छ । यादवको नियुक्तिले आगामी निर्वाचनमा माओवादीलाई हानि नपुर्याउने भएकोले माओवादी अहिले चुप बसेर वर्तमान सरकारको समर्थनमै लागेको हो ।
यादवको अनुमोदनलगत्तै एमालेले प्रधानन्यायधीश बनाउन चाहेकी व्यक्ति सुशीला कार्कीका संसदीय सुनुवाई पनि हुँदैछ । नाम मात्रको प्रक्रिया पूरा गरेर कार्की पनि प्रधानन्यायधीश हुँदैछिन् ।
एमालेका नेता तथा कार्यकर्तालाई सर्वोच्च अदालतको न्यायधीश नियुक्तिको सिफारिशका विरुद्धमा परेको सर्वोच्चको रिटका विषयमा कार्कीले निकै चलखेल गरेकी छिन् । रिट नै दर्ता गर्न नदिएकी कार्की विदेश गएका वेलामा रिट दर्ता भएको थियो । तर, वित्यास पर्ने देखेर एमालेले तुरुन्तै कार्कीलाई फिर्ता बोलाएको थियो र उनले भ्रमण नै छाडेर फर्केकी थिइन् ।
यो अवस्थासँगै कांग्रेसका लागि भरथेग गरिदिने महत्त्वपूर्ण निकायमा मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्मा रहने छन् । तर निर्वाचनका मुखमा प्रमुख निर्वाचन आयुक्त र न्यायलय प्रमुखजस्तो महत्त्पूपर्ण पद अर्को हुन सक्दैन । किनभने मनमोहन अधिकारीको
प्रधानमन्त्रीत्वकालमा निर्वाचनमा जान रोकेर एमालेलाई बहुमत ल्याउनबाट रोक लगाउने काम अदालतको फैसलामार्फत भएको आरोप एमालेले लगाउँदै आएको छ । यी सबै कुराको तारतम्य मिलाएर एमालेले नयाँ निर्वाचनमा आफूलाई बलियो बनाउने योजना पूर्ण गर्दै छ । एमालेकै पुच्छर समातेर माओवादी केन्द्र पनि बच्ने आशा पालिरहेको कुरा कसैबीच लुकाउनुपर्ने अवस्था अब बाँकी छैन ।
त्यही भएर यतिवेला कांग्रेस पनि मधेसी दलको मागको पुच्छर समातेर निर्वाचन टाल्ने दाउ रचिरहेको छ । यसले कांग्रेसलाई झनै हानि पुर्याउने निश्चित छ । किनभने सधैं भारतीय आडमा सरकार ढाल्ने दाउमा लागिरहेको कांग्रेस अलोकप्रिय बनेको छ भने ओली सरकारले ल्याएको वितरणमुखी बजेटले उसलाई नराम्ररी पछार्ने देखिएको छ ।














