२४ असार, काठमाडौं । राजधानीको अधिकांश मासु पसल र पशुवधशालाको मासु खान योग्य नरहेको फेला परेको छ । आपूर्तिमन्त्री गणेशमान पुन नेतृत्वको टोलीले राजधानीका मासु पसलमा गरेको अनुगमनमा यस्तो भेटिएको हो ।
सतुङ्गलमा करिब १५ वर्षदेखि सञ्चालन हुँदै आएको एक मिट सेन्टरले सामान्य मापदण्ड पूरा नगरेको फेला परेको छ । आपूर्ति मन्त्री गणेशमान पुनको नेतृत्वमा गएको विशेष अनुगमनका क्रममा यस्तो फेला परेको हो ।
ढक तराजु नापतौल विभागमा दर्ता नगरेको, बधशाला अत्यन्तै फोहर रहेको र बधशालामा स्याउँस्याउँती किरा परेको अनुगमनका क्रममा भेटिएको छ ।
आपूर्ति मन्त्री गणेशमान पुनले बधशालालाई तत्काल शिल गरेर कडा भन्दा भन्दा कडा कारबाही गर्न निर्देशन दिएका छन् ।
‘यो बधशालामा हदैसम्मको लापरवाही देखियो, यस्तो मासु खाँदा जनताको स्वास्थ्य कस्तो भएको होला ?’ भन्दै मन्त्री पुनले बधशाला तत्काल शिल गर्न निर्देशन दिए ।
गुणस्तर तथा नापतौल विभाग, पशु विभाग, आपूर्ति व्यवस्थापन तथा उपभोक्त हित संरक्षण विभाग, वाणिज्य मन्त्रालय, उपभोक्त मञ्च र पत्रकारको टोली अनुगमनका क्रममा राजधानीका विभिन्न मासु पसलको अनुगमनमा गएको हो । अनुगमन टोलीले सो वधशालाका सञ्चालक सेभ मोहमदलाई २ घण्टाभित्र बधशाला सफा गर्न निर्देशन दिएको छ ।
बधशाला सफा गरिसकेपछि शिलबन्दी गरेर टोली र्फकने आपूर्ति व्यवस्थापन विभागले जनाएको छ । यो बधशालाले दैनिक १०र१२ वटा सम्म भैसी तथा रागा काट्दै आएको छ ।
विभागले साताव्यापी रुपमा जनस्वास्थ्यसँग सरोकार राख्ने विभिन्न क्षेत्रमा अनुगमन गर्दै आएको छ । सोही क्रममा आज राजधानीका मासुपसल तथा बधशालामा अनुगमन गरेको हो ।
सरकारले साउन १ गतेदेखि बधशाला सञ्चालन गर्न नदिने निर्णय यसअघिनै गरिसकेको छ ।












