१० पुस, काठमाडौं । पुरातात्विक सम्पदा रानीपोखरीको पुनः निर्माणमा सिमेन्ट र क्रंक्रिट प्रयोग गरी यसको महत्त्व विगार्न लागिरहेको भनी आलोचना भैरहेका वेला महानगरप्रमुख विद्यासुन्दर शाक्यले यसको प्रतिवाद गरेका छन् । ऐतिहासिक महत्त्वको रानीपोखरी पुनःनिर्माण पुरातत्व विभागले स्वीकृत गरेको डिजाइनअनुसार नै अगाडि बढिरहेको शाक्यले बताएका हुन् ।
शाक्यले रासससँग कुरा गर्दै भने, “सम्पदा सबैको साझा सम्पत्ति हो त्यसैले अनावश्यक विवाद झिकेर पुनःनिर्माण समस्या नल्याउनुस् ।” उनले रानीपोखरी पुनःनिर्माणको आयोजना आफू निर्वाचित हुनुभन्दाअघिकै भएको भन्दै सम्पदा नमासिने गरी जति सक्दो छिटो काम सम्पन्न गर्न निर्देशन दिइसकेको पनि बताए ।
“पुरातत्व विभाग, पुनःनिर्माण प्राधिकरण र महानगरको सहमतिमै राष्ट्रपतिज्यूले रानीपोखरी पुनःनिर्माणको शिलान्यास गर्नुभएको हो”, प्रमुख शाक्यले भने, “यो योजना पहिलाकै भएकाले मैले डिजाइनमा केही सामान्य हेरफेर गरेर पहिलाकैअनुरुप पुनःनिर्माण गर्न निर्देशन दिएको छु ।
“रानीपोखरीमा वाटर फाउण्टेन राख्छौँ । यो पोखरीलाई रमणीय र सुन्दर पार्कका रुपमा संरक्षण र विकास गर्छौं”, उनले भने, “सकेसम्म रत्नपार्कको बीचको बाटोलाई पनि वैकल्पिक बाटो बनाएर यो रानीपोखरीको क्षेत्रलाई रत्नपार्कसम्म जोड्ने योजना छ ।”
रानीपोखरी पुनःनिर्माणका क्रममा कंक्रिट हालिएको भन्दै पुरातत्वविद्हरुले आपत्ति जनाएको कुराप्रति संकेत गर्दै भने, रानीपोखरीलाई प्रताप मल्लले बनाएका हुन् भनेर त्यस्तै अवस्थामा छाड्ने नभई सम्पदाको संरक्षण गर्दै समयसापेक्ष बनाउने हो ।
विसं २०७२ मा गएको गोरखा भूकम्पले रानीपोखरी र पोखरीको बीचभागमा रहेको बालगोपालेश्वर मन्दिरमा पूर्णरुपमा क्षति पुगेको थियो ।












