८ पुस, काठमाडौं । नेपालमा राजतन्त्रको माग बढेको भन्दै बिबिसीले एक भिडियो सार्वजनिक गरेको छ । राजतन्त्र समाप्त भैसकेको र गणतन्त्रात्मक संविधानअनुसार प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन सकिएलगत्तै विबिसी हिन्दीले नेपालमा राजतन्त्रको मुद्दा उठाउँदै तयार पारेको भिडियो रिपोर्ट आज शनिबार सार्वजनिक गरेको छ । राजतन्त्र समाप्त भएको नौ वर्षमै नेपालमा राजतन्त्र फर्काउन आवाज उठेको भन्दै बिबिसी हिन्दीले आफ्नो फेसबुक पेजमार्फत भिडियो रिपोर्ट सावैजनिक गरेको हो ।
नेपालमा राजतन्त्र आवश्यक रहेको र यो राज्य नै राजाको रहेको भन्ने मानिसहरुको भनाइलाई केन्द्रमा राखेर बिबिसीले यो रिपोर्ट तयार पारेको छ । राजतन्त्रवादी भरतकेशर सिंहदेखि व्यक्तिको भनाइ समेटिएको छ । समाचारलाई केही सन्तुलित देखाउने प्रयासस्वरुप बामगठबन्धनका तर्फबाट माधवकुमार नेपालको भनाइ समेत समावेश गरिएको छ ।
हिन्दूवादी संगठनहरुले राजतन्त्रको वकालत गरिरहेको भन्दै विश्व हिन्दू महासंघका तर्फबाट भन्दै सचिव अस्मिता भण्डारीको भनाइ रिपोर्टमा समावेश गरिएको छ । केवल हिन्दूवादी संगठनले मात्र राजतन्त्रको माग नगरी अन्य कयौं पक्षबाट यसको माग बढेको भन्दै बौद्धिक समूहले पनि यसको माग गरेको देखाउन खोजिएको छ । नेपाल बौद्धिक संघका तर्फबाट भन्दै केबी रोकायको भनाइ रिपोर्टमा समावेश गरेको देखिन्छ । रोकायले नेपालको एकता र धार्मिक पहिचानका लागि राजा आवश्यक रहेको बताएका छन् । एकजना राजावादी व्यक्तिको भनाइ राखेर सारा बौद्धिक वर्गले राजतन्त्र चाहेको कुरा रिपोर्टमा प्रस्तुत गर्न खोजिएको छ ।
लोकतन्त्रको विरोध गर्ने र राजतन्त्रको समर्थन गर्ने ४ व्यक्तिको भनाइ (बाइट) राखेर राजतन्त्रको विरोधमा एक व्यक्ति माधव नेपालको मात्रै भनाइ राखिएको छ । राजतन्त्रको पक्षमा भरतकेशर सिंह, प्रदर्शनकारीका तर्फबाट सुशील नाम गरेका एक व्यक्ति र नेपाल बौद्धिक संघका केबी रोकायको भनाइ राखिएको छ । अस्मिता भण्डारीले बाइटमा राजतन्त्रको पक्षमा कुनै कुरा बोलेकी छैनन् । उनले केवल हिन्दू राज्यको कुरा गरेकी छन् । तर, उनले पनि राजतन्त्रकै पक्षमा बोलेको भन्दै रिपोर्टरको भनाइले जोडिएको छ ।
बिबिसीले भिडियो रिपोर्टमा समावेश गरेको राजावादीहरुको दृश्य भने निर्वाचनपूर्वको दृश्य हो । निर्वाचनपूर्व राजावादीहरुले काठमाडौंका विभिन्न स्थानमा जुलुश र प्रदर्शन गरेका थिए । यस भिडियोमा देखिएका एक व्यक्ति जगतगुरु वीरेन्द्र कापरले नेपालदेशडटकमलाई प्रतिक्रिया दिँदै भने त्यो प्रदर्शन चुनावपहिलेको हो । आफू हिन्दूराज्यको पक्षमा रहे पनि अब देशमा राजतन्त्र चाहिन्छ भन्ने पक्षमा आफू नरहेको उनले बताए ।
हिन्दी भाषामा माधव नेपालको अन्तरवार्ता : लेकिन राजतन्त्रका पुनर्वहालीका सपना मत देखिए
लामो समयसम्म राजतन्त्रको अन्त्यका लागि वाम दलहरुले संघर्ष गरेको उल्लेख रिपोर्टमा गरिएको छ । वाम दलहरुका तर्फबाट भन्दै एमाले नेता माधवकुमार नेपालको भनाइ (बाइट) रिपोर्टको अन्त्यतिर समावेश गरिएको छ । तर नेता नेपालको यो भनाइ हिन्दीमै रहेको छ । नेता नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई चुनौति दिँदै भनेका छन् : आपको लग्ता हे कि आप योग्य हे, सक्षम हे तो आइए, एक बुझन किजिए, अपील किजिए । लेकिन नेपालमे राजतन्त्रका पुनर्वहालीका सपना मत देखिए ।
नयाँ निर्वाचनको परिणामसँगै भारतीय संचारमाध्यममा नेपालकाबारे विभिन्न नकारात्मक समाचार आइरहेकै समयमा बिबिसीले पनि निर्वाचनपूर्वको प्रदर्शनका दृश्यहरुलाई समावेश गरेर नेपालमा राजतन्त्रको माग रहेको भन्ने रिपोर्ट बनाउनुलाई रहस्यमय मानिएको छ ।
हेर्नुहोस् बिबिसीको भिडियो रिपोर्ट :
एक तरफ नेपाल लोकतंत्र अपनाने की राह पर है और दूसरी तरफ वहां राजशाही की मांग की जा रही है
Posted by BBC हिन्दी on Saturday, December 23, 2017














