८ पुस, दमौली । पुल निर्माणमा रहेका मजदुरको झगडा मिलाउन गएका ठेकेदारको मजदुरले नै हानेको रडले लागेर शनिबार मृत्यु भएको छ । झापा कन्काई १ निवासी ठेकेदार ३४ वर्षीय राज श्रेष्ठको उपचारका क्रममा पोखराको मणिपाल शिक्षण अस्पतालमा बिहान ज्यान गएको हो ।
बन्दीपुर गाउँपालिका ४ नयाँपुल र गोरखाको च्याङली जोड्ने मोटरेबल पुल निर्माणमा संलग्न मजदुरबीच शुक्रबार राती मादक पदार्थ सेवन गरी भएको झडप मिलाउन श्रेष्ठ गएका थिए । झापा कन्काई २ निवासी २८ वर्षीय दिलेर मुर्मीको प्रहारबाट श्रेष्ठसहित दुई मजदुर घाइते भए । घाइतेलाई उपचारका लागि लक्ष्मी अस्पताल लगिए पनि श्रेष्ठको स्थिती चिन्ताजनक भएपछि पोखरा लगिएको तनहुका प्रहरी निरीक्षक विजयराज पण्डितले बताए । घाइते झापा कन्काईका रवि याङरान तथा दिपु मड्डीको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचार भैरहेको छ ।
घाइतेको अवस्था सुधारोन्मुख रहे पनि घटना लगत्तै फरार मुर्मीको प्रहरीले खोजी गरिरहेको छ ।














