७ पुस, काठमाडौं । सत्ता छाड्ने र सत्तामा जाने क्रममा रहेका नेपाली राजनीतिका दुई पात्रबीच एकआपसमा मनभित्र तीतो रहे पनि बाहिरीरुपमा उनीहरुले हात मिलाएका छन् । सन्दर्भ सत्ता छाड्नुपर्ने अवस्था आउँदा पीडा भैरहेका प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तामा जान नपाएर छटपटी भैरहेका एमाले अध्यक्ष केपी ओलीको हो । निर्वाचनपछि दोहोरो संवाद नगरेका नेपाली राजनीतिका यी दुई पात्रबीच शुक्रबार भौतिक रुपमा भेट त भयो तर मन भने माझिएन । दुवैले हात त मिलाए तर मन भने मिलेन । यी दुई पात्रको मन नमिल्दा नेपाली राजनीतिमा अझै अन्योलको बादल मडारिई रहेको छ ।
आफ्नो प्रधानमन्त्रीत्वकालमा निर्वाचन सम्पन्न गरेपछि आमजनतालाई धन्यवाद दिन औपचारिक कार्यक्रम समेत नगरेका प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवाले आज पाँच दलको बैठक आयोजना गरेका थिए । बैठकस्थल थियो प्रधानमन्त्रीको निजी निवास वालुवाटार । एमाले अध्यक्ष ओली आफ्नो पुरानै शैलीमा पुगे सबै दलका नेताभन्दा ढिलो । प्रधानमन्त्री पद खुस्किएका देउवा र प्रधानमन्त्री पद हाम्फाल्न आतुर ओलीले आपसमा हात चाहिँ मिलाए तर बैठकभरि यी दुईजनाबीच मन भने मिल्न सकेन । एकले अर्कोप्रति व्यङ्ग्य गरेरै बैठकको समय विताए ।
देउवाले ओलीका लागि आफ्नै छेऊमा खाली राखेको कुर्चीमा ओली बसे तर देउवाको नजिकै बसेर ओलीले तिखो वाण पनि प्रहार गर्दै बैठकको निर्णयमा यस्तो बुँदा पनि लेख्नुपर्ने बताए- ‘वामगठबन्धनले जित्यो भने सरकार छाड्नुपर्दैन, ५ वर्ष चलाइराख्छौं भन्ने पनि थपौँ ।’
ओलीको तिखो व्यङ्ग्यवाणको शालीन जवाफ दिँदै देउवाले भने- ‘मैले कहाँ छाड्दिँन भनेको छु ।’
देउवाको यो जवाफ ओलीको व्यङ्ग्यलाई जवाफ पुग्ने खालको थिएन । उनी नैतिकरुपले ओलीको जवाफ दिनसक्ने अवस्था नै नभएको बैठकमा सहभागी नेताहरुले बताएका छन् ।
राष्ट्रपतिसमक्ष पठाएको राष्ट्रियसभा निर्वाचनसम्बन्धि अध्यादेशमा सहमति जुटाउन देउवाले बोलाएको यो बैठकमा दलहरुबीच कुनै सहमति भने भएन । देउवा र ओलीको आआफ्नै अडानका कारण यो बैठक दुई नेताको हस्तमिलनमा मात्रै सिमित हुन पुग्यो ।