७ मंसिर, कालीकोट । कालीकोटमा प्रहरी र म्यादी प्रहरीबीचको झडपमा गोली चल्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कालीकोटको सान्नीत्रिवेणी गाउँपालिका तिकुवा निवासी विवेक ऐडी रहेका छन् । उनी म्यादी प्रहरी हुन् । ।
सरकारले दिने भनेको तलवभत्ता कटाइएको भन्दै म्यादी प्रहरीले जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शन गरिरहेका बेला प्रहरी र म्यादीबीच झडप भएको हो ।
प्रदर्शनले उग्र रुप लिदा प्रहरीले लठ्ठी चार्ज र अश्रु ग्यास प्रहार गरेको थियो । प्रहरीमाथि म्यादी प्रहरीले ढुङ्गामुडा गरेपछि प्रहरीले गोली चलाएको थियो । प्रहरीले अन्धाधुन्द गोली चलाइएको समाचारमा जनाइएको छ ।
झडपमा एक जनाको मृत्यु भएको पुष्टि प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले गरेका छन् । झडपमा दर्जन भन्दा बढी म्यादी प्रहरी घाइते भएका छन्। घाइते सबैको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। झडपपछि सदरमुकाम मान्मको अवस्था तनावपूर्ण बनेको छ। आक्रोशित म्यादी प्रहरीले सदरमुकाममा रहेका प्रहरी बिट भत्काएका छन्। प्रहरीले दमन गरेको भन्दै म्यादी प्रहरीले प्रहरीका बिट तोडफोड गरेका हुन्।












