५ पुस, काठमाडौं । वामगठबन्धनमा आबद्ध प्रमुख दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकताका लागि पहल सुरु भएको छ । पार्टी एकतालाई तत्काल अगाडि बढाउनका लागि पार्टी एकता संयोजन समितिको बैठक यही शुक्रबार बस्ने भएको छ ।
निर्वाचनलगत्तै पार्टी एकता गर्ने घोषणा गरेका यी दुई दलका शीर्ष नेता सम्मिलित सो समितिले निकट भविष्यमा पार्टी एकता गर्ने विषयमा ठोस योजना अघि सार्ने केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।
निर्वाचनमा मतदाता र कार्यकर्ताबाट समेत पार्टी एकताको विषय अनुमोदन भइसकेकाले दुई पार्टीबीच एकता गर्नका लागि कुनै समस्या नभएको स्पष्ट भन्दै एकता प्रक्रियालाई अगाडि बढाउन लागिएको उनले बताए। पार्टी एकता संंयोजन समितिमा एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत शीर्ष नेता रहेका छन् ।
एमाले र केन्द्रबीच गत असोज १७ मा चुनावी तालमेल र पार्टी एकताको सहमति सार्वजनिक भएको थियो । दुवै पार्टीका नेताहरुले नयाँ सरकार गठन र एकता प्रक्रिया सँगसँगै अघि बढ्ने बताउँदै आएका छन् ।












