५ पुस, काठमाडौं । प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेपाल प्रहरीका पूर्वडिआइजी नवराज सिलवालविरुद्ध सरकारी कागजात किर्ते गरेको मुद्दा दायर भएको छ। प्रहरीले सिलवालविरुद्ध वुधबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । सिलवालले आफू डिआइजी हुँदा प्रहरी प्रमुख हुने दौडमा कासमु नम्बर कीर्ते गरेको ठहर सर्वोच्च अदालतले गरेपछि प्रहरीले उनीमाथि कारवाही प्रक्रिया अगाडि बढाएको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी रवीन्द्र धानुकले बुधबार सिलवालविरुद्ध सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालतमा मुद्दा दर्ता गरेको जानकारी दिएका छन्।
यसअघि सर्वोच्च अदालतले सिलवालले आइजिपी बढुवाका सम्बन्धमा सर्वोच्चमा पेश गरेका कागजात किर्ते भएको भन्दै किर्ते गर्नेमाथि अनुसन्धान गर्न आदेश दिएको थियो।
मुद्दा दर्ता भएसँगै सिलवाललाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको छ । एमालेबाट टिकट पाएर प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका सिलवाललाई पक्राउ गर्न सभामुखको अनुमति आवश्य पर्दैन । पदको सपथ नलिँदासम्म सांसद पद कायम नहुने भएकोले सिलवाललाई पक्रन सभामुखको स्वीकृति आवश्यक नपर्ने भएको हो।