५ पुस, काठमाडौं । एमालेले राष्ट्रपतिलाई उक्साएर असंवैधानिक काम गर्न लगाएको आरोप कांग्रेसले लगाइरहेका वेला एमाले अध्यक्ष केपी ओलीले भने कांंग्रेस नेतृत्वको सरकारले नै असंवैधानिक कार्य गरेको जवाफ फर्काएका छन् । काठमाडौंमा आज आयोजित एक कार्यक्रममा बोल्दै ओलीले राष्ट्रपतिसमक्ष सरकारले पठाएको अध्यादेश नै असंवैधानिक रहेको टिप्पणी गरेका हुन् ।
काठमाडौंबाट विजयी वामगठबन्धनबाट प्रदेश तथा प्रतिनिधि सभाका प्रतिनिधिलाई बधाई दिन आयोजित कार्यक्रममा बोल्दै ओलीले सरकार र मन्त्रीहरुलाई आफ्नो मर्यादामा बस्न चेतावनी समेत दिए । उनले भने, ‘मन्त्रीहरुले हैसियत बुझ्न जरुरी छ । राष्ट्रपतिलाई असंवैधानिक काम गर्न लगाएर विवादमा नतान्नुस्, यसले तपाईंहरुलाई पनि राम्रो गर्दैन ।’
सरकारले राष्ट्रपति समक्ष पेश गरेको अध्यादेश असंवैधानिक भएको दावी गर्दै ओलीले उक्त अध्यादेश प्रमाणिकरण गर्नै नमिल्ने बताए । उनले भने ‘संसद विघटन भएपछि ल्याएको अध्यादेश हो त्यो, एउटा पार्टीका लागि मात्रै ल्याएको अध्यादेश राष्ट्रपतिले प्रमाणिकरण गर्ने कुरै हुँदैन ।’
निर्वाचनको परिणाम सार्वजनिक गर्न अध्यादेशले रोकेको भनेर निर्वाचन आयोगका एक आयुक्तले विवाद निम्त्याउन चाहेको टिप्पणी पनि ओलीले गरे । कांग्रेस कोटाबाट आयुक्तमा नियक्त भएकी इला शर्माका पछिल्ला अभिव्यक्तिप्रति ओलीको भनाइ लक्षित थियो ।
वामगठबन्धनले आयोजना गरेको कार्यक्रममा एमालेका नेता माधव नेपाल तथा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ पनि सहभागी थिए ।













