५ पुस, काठमाडौं । काठमाडौंस्थित हल्चोकको सशस्त्र प्रहरी मुख्यालयमा मध्यरातिमा आगलागी भएको छ । सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालय मातहत रहेको ‘केन्द्रिय लेखा स्टोर’मा मध्यरातमा आगलागी भएको घटना रहस्यमय रहेको छ । मंगलबार मध्यराती १ बजेर ३० मिनेटमा मुख्यालयमा आगलागी भएको थियो । आगलागी भएपछि दुईओटा दमकलको सहायताले आगलागी नियन्त्रणमा लिइएको थियो । आगलागीका कारण अख्तियारको छानविनको क्रममा रहेको ‘भ्रष्टाचार मुद्दा’का महत्वपूर्ण प्रमाणहरु समेत नष्ट भएको छ । यिनै प्रमाण नष्ट गराउनका लागि लेखा शाखमा योजनाबद्ध रुपमा आगो लगाइएको अनुमान गरिएको छ ।
सशस्त्र मुख्यालय स्रोतका अनुसार पूर्वमहानिरीक्षक दुर्ज कुमार राईको समयका खरिद गरिएको ६८ लाख मुल्य बराबरको लत्ताकपडा खरिदमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन गरिरहेको छ । छानविनका लागि महत्वपूर्ण प्रमाणको रुपमा रहेको बिल भपाई, तथा अन्य कागजात सोही स्टोरमा राखिएको थियो, तर शंकास्पद ढंगले आगलागी हुँदा राईको कार्यकालमा खरिद गरिएका लत्ताकपडा, जुत्ता लगायतका सामग्रीको कागजपत्र नष्ट भएको छ ।
शंकास्पद ढंगले आगलागी भएसँगै नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाले घट्नाको अनुसन्धान शुरु गरेको छ ।
त्यस्तै सशस्त्र प्रहरी प्रधान कार्यालयले पनि एआईजी प्रेम शाहीको संयोजकत्वमा छानविन समिति गठन गरेको सशस्त्र प्रहरी प्रवक्ता डिआईजी बावुराम पाण्डेले बताए । उनले भने, ‘विद्युत्तिय सर्ट पनि हुनसक्छ, किनभने रेफ्रिजेरेटर त्यहाँ अन थियो भन्ने कुरा आएको छ, स्टोर भएको हुनाले कसैको ‘इन्टेन्सन’ पनि केही हुनसक्छ भनेर छानविन समिती गठन भएको छ ।’
डिआईजी पाण्डेका अनुसार करिब २२ लाखको भौतिक सामग्री क्षति भएको छ । पुस्तक, टेवुल, रेफ्रिजेरेटर, ट्रे बाहेक केही कागजपत्र र फाइलहरु पनि नष्ट भएको हुनसक्ने उनले बताए ।
सशस्त्र प्रहरी मुख्यालय स्रोतका अनुसार उक्त केन्द्रिय लेखा स्टोरमा ठूलो परिणाममा मदिरा समेत रहेको पाइएको छ । लेखा स्टोरमा आगलागी हुँदा ड्युटी समेत नराखेको पाइएसँगै घटना थप शंकास्पद बन्दै गएको छ ।
सरकारका अन्य निकायहरु धमाधम डिजिटल सिस्टममा गएको बेला सशस्त्र प्रहरीको लेखा प्रणाली पुरानै ढड्डा सिस्टममा चल्दै आएको छ । केन्द्रिय लेखा शाखा र लेखा स्टोरमा लामो समयदेखि एउटै व्यक्तिहरु बस्ने गरेको र वर्षौंसम्म उनीहरुको सरुवा नहुने गरेको पाइएको छ ।













