४ पुस, काठमाडौं । नयाँ सरकारको नेतृत्व गर्ने दल एमालेकै कारण वर्तमान सरकारको नेतृत्वकर्ता दल कांग्रेसलाई फाइदा पुगिरहेको कुरा सरकारका प्रवक्ता मोहनबहादुर वस्नेतले खुलासा गरेका छन् । वस्नेतले आज संचारमन्त्रालयमा पत्रकार सम्मेलन गर्दै एमालेका कारण विधेयक अड्किनाले वर्तमान सरकारको सत्ता लम्बिइरहेको र आफूअनुकुलका काम गर्न अवसर मिलेको खुलासा गरेका हुन् । राष्ट्रपतिले राष्ट्रियसभा सम्बन्धि विधेयक पारित नगर्दासम्म प्रधानमन्त्री शेरबहादुर देउवाले पदबाट राजिनामा नदिने र राजिनामा नदिँदासम्म राजनीतिक नियुक्तिलाई जारी राख्ने बस्नेतले बताए ।
संचारमन्त्री वस्नेतले राष्ट्रपति विद्या भण्डारीद्वारा दलीयअनुकुलतामा काम भएको आरोप समेत लगाए । उनले भने सरकारले २ महिनाअघि नै पेस गरेको अध्यादेश रोकिनु र राष्ट्रपति जस्तो गरिमामय संस्थालाई दलीय अनुकूलतामा प्रयोग गरिनु चिन्ताको विषय भएको छ।
निर्वाचनपछि सरकारका तर्फबाट गरिएको पहिलो पत्रकार सम्मेलनमा सरकारको नयाँ धारणा आउने अपेक्षा गरिए पनि वर्तमान सरकारले तत्काल सत्ता नछाड्ने औपचारिक जानकारीमा वस्नेत सीमित रहे । राष्ट्रियसभाको कानुन नबनेसम्म नयाँ सरकार बन्न नसक्ने ठोकुवा गर्दै वस्नेतले यस्तो अवस्थामा आफूहरुले सरकार नछाड्ने जिकिर गरे।
सरकारले प्रमाणिकरणका लागि राष्ट्रपतिसमक्ष पठाएको विधेयकमा एमालेको असहमति रहेको छ । एमालेको असहमतिकै कारण राष्ट्रपतिबाट सो विधेयक प्रमाणिकरण भएको छैन ।












