४ पुस, नवलपरासी । नवलपरासी निवासी एक पूर्वसैनिकले आयुर्वेद पद्धतिको उपयोग गर्दै घरेलु औषधीद्वारा विषालु सर्पले डसेका बिरामीलाई सफल उपचार गर्दै आएका छन् ।
नवलपरासी (बर्दघाट सुस्तापूर्व) गैँडाकोट–१३ सिखरौली निवासी डम्बरबहादुर थापा सर्पदंशित बिरामीलाई घरेलु उपचार पद्धतिबाट निको पार्दै यहाँ चर्चित बन्नुभएको छ । थापा भारतीय सेनाका पूर्व कर्मचारीसमेत हुन् ।
विसं २०५४ देखि आफ्नै घरमा सो सेवा दिँदै आएका थापाले हालसम्म सर्पले डसेका करिब २०० भन्दा बढी बिरामीलाई कुशलतापूर्वक सफल उपचार सेवा दिइसकेको बताए । भारतीय सेनामा रहँदा चिकित्सा तालिम र आयुर्वेदमा उपवैद्य तालिम लिई प्राप्त ज्ञानलाई आफूले उपयोग गरेको थापाको भनाइ छ ।
विषालु सर्पले लिन लागेको जीवन निःशुल्क रुपमा बचाउँदा आफूलाई आनन्दको महसुस हुने ६३ वर्षीय थापाको भनाइ छ ।
सामान्य घरेलु उपचार पद्धतिबाट हालसम्म आफूसँग आएका सबै बिरामीलाई सफल उपचार गराउँदै आएको थापाको जिकिर छ ।
यस प्रकारको आफ्नो क्षमता र सेवाबारे नेपाल सरकारले समेत उपयोग गर्नुपर्ने धारणा थापाको छ ।














