४ पुस, काठमाडौं । नेपालमा वामगठबन्धनको सरकार बनेपछि चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल भ्रमणमा आउने तयारी गरेका छन् । बारम्बार
रोकिएको सीको नेपाल भ्रमण वामगठबन्धनको सरकार बन्ने भएपछि नेपाली आउने तयारीमा लागेका हुन् ।
चिनियाँ राष्ट्रपति सी जिनपिङ आगामी मार्चमा नेपाल भ्रमणमा आउने गरी तयारी सुरु भएको हो ।
यसपटक भने उनले नेपाल भ्रमणलाई आफ्नो कार्यतालिकाभित्र राखेको माओवादीका एक नेताले जानकारी दिए । सीको नेपाल भ्रमण तयारी राष्ट्रपति कार्यालयले सुरु गरिसकेको स्रोतको भनाइ छ ।
राष्ट्रपति सी २०१६ सेप्टेम्बरमा नेपाल भ्रमणमा आउन चाहेका थिए । दक्षिण एसियाका श्रीलंका, बंगलादेश, भुटान, पाकिस्तान र भारतलगायत अधिकांश देशको भ्रमण गरिसके पनि उनी नेपाल भ्रमणमा आएका छैनन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।
एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारका बेला राष्ट्रपति सीको भ्रमण तयारी भए पनि त्यसबेला नेपालमा सरकार परिवर्तनलगायत राजनीतिक अस्थिरताका कारण भ्रमण स्थगन भएको थियो ।
अहिले नेपालमा निर्वाचनमार्फत स्थिर सरकार निर्माण हुने क्रममा रहेको र अझ त्यसमा पनि वामपन्थीहरूले सरकार गठन गर्ने भएपछि सीको भ्रमण तयारी सुरु भएको हो ।












