३ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकार गठन र पार्टी एकता प्रक्रिया सँगसँगै अघि बढाउने निष्कर्ष निकालेको छ । प्रतिनिधि सभा र राष्ट्रिय सभाको निर्वाचनपछि पहिलोपटक बसेको पार्टीको केन्द्रीय कार्यालय बैठकले एमालेसँग हुने पार्टी एकता प्रक्रियालाई अगाडि बढाउने निर्णय गरेको हो ।
बैठकपछि पार्टी प्रवक्ताले पत्रकाहरुसँग भनिन् ‘पार्टी एकता र सरकार गठन सँगसँगै अगाडि बढ्छ, अब पार्टी एकता कसैले रोकेर रोकिँदैन ।’
बैठकले नयाँ सरकार गठनका लागि छलफललाई घनिभूत बनाउने तथा राष्ट्रिय सभा गठनसम्वन्धी विवाद समाधानका लागि राजनीतिक छलफल र सहमतिको माध्यमलाई अवलम्बन गर्नुपर्ने निष्कर्ष समेत माओवादीले निकालेको छ । प्रवक्ता पम्फा भुसालले भनिन्, ‘शीर्ष नेताहरु बसेर सहमति खोज्नुपर्ने निष्कर्ष निकालेका छौं, त्यसैअनुसार अघि बढ्छौं ।’
बैठकले निर्वाचनको समीक्षा गर्दै बाम गठबन्धन बनाएर चुनावमा जाँदा परिणाम सकारात्मक आएको निष्कर्ष समेत निकालेको छ ।












